राजनीति

प्रचण्ड नियती- जता मल्को, उतै ढल्को

हिमालय टिभी
२०८१ मंसिर २६ गते १८:५२
प्रचण्ड नियती- जता मल्को, उतै ढल्को

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रास्वपा सभापति रवि लामिछानेविरुद्ध सहानुभूति देखाउने नाममा अदालतलाई समेत प्रभावित पार्ने ठाउँमा पुग्नुभएको छ ।

लामिछानेको प्रभाव रहेको चितवन क्षेत्रमा पार्टीको आम सभा गरेर प्रचण्डले लामिछानेमाथि सहानुभूति देखाउने प्रयास गर्नुभएको छ । तर त्यही सहानुभूतिको बाटो हुँदै उहाँ अदालतलाईसमेत सिकाउने वा प्रभाव पार्ने ठाउँमा पुग्नुभएको छ ।
उहाँ भन्दै हुनुहुन्छ, लामिछानेलाई हिरासतमा राख्न आवश्यक छैन, हाजिरी जमानीमा छोडिदिए हुन्छ ।

प्रचण्ड यतिमै रोकिनुभएको छैन । उहाँले सरकार र सरकारीवादी पार्टीका नेताहरुलाई पनि लामिछानेलाई हिरासतमा राख्न आवश्यक नभएको भन्दै छोडिदिन भनेको दाबी गर्नुभयो ।

रवि लामिछानेले निर्वाचन जितेको ठाउँमा गएर उनका मतदातालाई समेत प्रभावित पार्ने प्रयास स्वरुप प्रचण्डको यस्तो अभिव्यक्ति आएकोमा कुनै आशंका छैन । तर आश्चर्य के हो भने उहाँले अदालती प्रक्रियामा गइसकेको विषयलाई नेताहरुलाई भनेर वा सरकारलाई भनेर प्रभावित पार्न सकिन्छ भन्ने दाबी चितवनबाट गरिरहनुभएको छ । त्यसमाथि अदालतलाई समेत आदेश नै दिएजसरी हाजीरी जवानीमा छोड्न भनिरहनुभएको छ ।

त्यसो त प्रचण्ड आफू सरकारमा हुँदा यसरी न्यायिक प्रक्रिया प्रभावित पार्ने प्रयास पटपटक गर्नुभएकै हो । महान्याधिवक्ताको दुरुपयोग गरेर लामिछानेलाई कहिले राहदानी प्रकरणमा क्लिन चिट दिनुभयो कहिले सहकारी प्रकरणमा । प्रचण्डकै कारण लामिछानेको राहदानी प्रकरण गिजोलिएको हो । सहकारी ठगी प्रकरणमा भने उहाँले महान्यायाधिवक्ताको दुरुपयोग गरे पनि यसले कानूनी बाटो छेक्न सकेन ।

राजनीतिक स्वार्थका लागि कहिले छानबिन समिति बनाउन तयार हुने र कहिले यही कार्यको विरोध गर्दै सभा सम्मेलन गर्ने प्रचण्डको नियतमा राजनीतिक स्वार्थ प्रष्ट देखिइरहेको छ । त्यसैले होला, प्रचण्ड सरकारलाई अदालत प्रभावित पार्ने सल्लाह दिनुहुन्छ, आफैले त्यो प्रयास गर्नुहुन्छ र त्यसले पनि काम बन्ने नेदेखेपछि धम्कीसमेत दिनुहुन्छ ।

प्रचण्डकै पार्टी माओवादीका सांसदसमेत सहभागी छानबिन विशेष समितिकै प्रतिवेदनका आधारमा सरकारले लामिछानेमाथि कारबाही प्रक्रिया अघि बढाएको हो । तर आफू सत्ता बाहिर भएपछि प्रचण्डले उक्त समितिले त्यस्तो प्रतिवेदन नदिएको दाबी गरिरहनुभएको छ । यसअघि लामिछाने पक्राउ परेकाे केही दिनमै उहाँले पार्टीको पदाधिकारी बैठकबाट निर्णय गराएर काठमाडौंमा खबरदारी सभा गरिसक्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलाई लक्षित गरेर दिएको चाइना कार्डको अभिव्यक्ति होस् वा नयाँ समीकरणको प्रयासबारे कांग्रेस महामन्त्री गगन थापालाई लक्षित गरेर दिएको अभिव्यक्ति किन नहोस् ।

राजनीतिक स्वार्थ र लोकरिझ्याइँका लागि उहाँका अभिव्यक्ति जुनै तहसम्म पनि जान सक्छन् भन्ने पछिल्ला घटनाक्रमले देखाइरहेका छन् । जता मल्को उतै ढल्कोको भूमिकाले प्रचण्डलाई व्यक्तिगत फाइदा त होला तर अदालती प्रक्रियाबारे उहाँले बोलेको कुराले अदालत कसरी नेता र सरकारको छायाँ बन्छ भन्ने आशंका पनि जन्माइदिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *