सहकारी ठगीबाट जोगिन रवि लामिछानेको बालुवाटार र बूढानीलकण्ठ दौडधुप
काठमाडौं : सहकारीको रकम हिनामिना प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पोखरामा दोस्रो पटक विरोध खेप्नुपर्यो ।
पार्टीको कार्यक्रममा सहभागी हुन मंगलबार पोखरा पुगेका लामिछानेविरुद्ध सहकारी पीडितहरुले कालोझण्डा देखाउँदै नाराजुलुस गरे । यो प्रदर्शनपछि लामिछानेले प्रदर्शनकारीलाई कसैले उचालेर नउचालिन चेतावनीसमेत दिनुभयो ।
एकातिर सहकारी बचतकर्तालाई सत्तारुढ दलहरुले उचालेको दाबी गरिरहेका लामिछाने अर्कोतिर भने यही विषय सल्ट्याउन प्रधानमन्त्रीसँग भेटेको आरोप लागेको छ ।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले अध्ययन, अनुसन्धान र बयान सम्पन्न गरेर प्रतिवेदन लेखिरहेको छ । केही दिनमा प्रतिवेदन सरकारलाई बुझाउने तयारी गर्दैछ । छानबिन समितिले अरु सहकारीमा भएको अपचलनबारे अनुसन्धान गरे पनि मुख्यरुपमा तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई केन्द्रमा राखेर यो समिति बनेको हो ।
समितिले अनुसन्धान सक्दै गर्दा तत्कालीन गृहमन्त्री अर्थात् रास्वपा सभापति रवि लामिछानेको छटपटी पनि बढेको पछिल्ला घटनाक्रमले देखाउँछन् ।
लामिछानेले यो समितिले आफ्नो काम उत्तरार्धमा पुर्याएको सन्देश दिएपछि तीनपटक प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटीसक्नु भएको छ भने केही पटक कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि भेट्नुभएको छ ।
लामिछानेले देउवालाई नभेटेको दाबी गरे पनि कांग्रेस केन्द्रीय कार्य समिति बैठकमा देउवाले आफूलाई लामिछानेले भेटेको जानकारी गराउनुभएको थियो ।
भदौ २५ गते, भदौ १७ गते र त्यसअघिसहित लामिछानेले पछिल्लोपटक प्रधानमन्त्री ओलीलाई बाक्लै भेटिरहनु भएको छ । यो बीचमा घटनाक्रम धेरै नै विकास भइसकेको अवस्थामा लामिछानेले झुट बोलेर आँखामा छारो हाल्ने प्रयास गर्दै हुनुहुन्छ ।
ओलीसँग लामिछानेले भेटेपछि गृहमन्त्रीसमेत रहनुभएका रमेश लेखकले तत्काल लामिछानेसँगको भेटमा भएको कुराकानीबारे प्रधानमन्त्री ओलीसँग चासो राख्नुभयो । उहाँले लामिछानेलाई घुमाउरो बाटोबाट जोगाउने खेल नखेल्न ओलीलाई चुनौती दिएको खबर लामिछानेले पाउनुभयो । अनि लामिछाने देउवालाई भेट्न बूढानीलकण्ठ पुग्नुभयो ।
देउवाले छानबिन समितिले जे प्रतिवेदन दिन्छ, त्यसैअनुसार हुने जवाफ फर्काउनुभयो । त्यसपछि लामिछानेले पुनः प्रधानमन्त्री ओलीलाई भेट्नुभयो । लामिछानेले उपसभामुखका विषयमा चासो व्यक्त गर्न ओलीलाई भेटेको दाबी गरे पनि छलफल सहकारी प्रकरणमै केन्द्रित रहेको स्रोतको दाबी छ । तर लामिछाने स्वयम् यो मान्न तयार हुनुहुन्न ।
पोखरामा पार्टीको कार्यक्रममा जाँदा आफूविरुद्ध कहिले खोया प्रहार र कहिले कालोझण्डा प्रदर्शन भएपछि लामिछानेले त्यसरी प्रदर्शन गर्नेहरुलाई सत्तारुढ दलले नै उचालेको दाबी गर्दै आउनुभएको छ । पोखराको सूर्यदर्शन सहकारीबाट लामिछानेको नाममा एक करोड रुकम निकासा भएको अनुसन्धानमा देखिएको छ । तर लामिछानेले आफ्नो नाम मात्र मुछिएको दाबी गर्दै आउनुभएको छ ।
पछिल्लोपटक प्रधानमन्त्रीसहित विभिन्न दलका नेताहरुसँगको भेटलाई लामिछानेले सहकारी प्रकरणमा आफूलाई जोगाइमाग्ने प्रयोजनका लागि नभएको बताउँदै आउनुभएको छ । बरु सहकारीको सबै आरोप आफूमाथि लगाएर वास्तविक पीडितहरुले झन न्याय नपाउने अवस्था बनिससकेको लामिछानेको आरोप छ ।
प्रतिक्रिया