Main News

हिन्दु राष्ट्रको मुद्दा राप्रपाकै एजेण्डामा कांग्रेस-एमाले !

हिमालय टिभी
२०८१ भदौ १४ गते २०:२५
हिन्दु राष्ट्रको मुद्दा राप्रपाकै एजेण्डामा कांग्रेस-एमाले !

काठमाडौं : धर्मनिरपेक्षाताकै पक्षधर दलहरुबाट नेपालमा फेरि हिन्दु राष्ट्रको मुद्दा मुखर बन्दैछ । नेतृत्व सकेसम्म मौन रहन र पार्टीका अन्य नेता तथा सांसदहरुबाट धर्मको कुरा निकाली रहने प्रवृत्तिले प्रश्रय पाइरहेको देखिन्छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा यही दृष्य देखिएको छ ।

सत्तारुढ दल नेकपा एमालेकै नेता किरण साहले संविधान संशोधन गरेर हिन्दु राष्ट्र कायम गर्नुपर्ने आवाज उठाउनुभएको छ ।
हिन्दुराष्ट्रको मद्दा

राप्रपाकै एजेण्डामा कांग्रेस-एमाले !
एमाले सांसद किरण साहले संसदमा किन उठाए हिन्दु राष्ट्रको मुद्दा ?
जनआक्रोश मत्थर पार्न हिन्दुराष्ट्रको मुद्दा लिएर जनतामा जाने दलहरुको तयारी हो ?
-एकपछि अर्को दलहरु हिन्दुराष्ट्रको मुद्दालाई चुनावी एजेण्डा बनाउँदै
-अरु दलसमेत हिन्दुराष्ट्रको पक्षमा प्रस्तुत हुन थालेपछि राप्रपालाई भरोसा
-नयाँ गठबन्धन सरकारका निकटस्थ नेताहरु हिन्दु राष्ट्रको मुद्दाको प्रभाव निर्वाचनसम्मै पुग्ने गरी एजेण्डा बनाउँदै

नेकपा एमालेका संसद किरण साहले बिहीबारको प्रतिनिधिसभा बैठकमा शुन्य समयमा उठाएको यो विषय सुनौँ ।
नेपाल धर्म निरपेक्ष भएका कारण संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा अवसर नपाएकोदेखि युवाहरुको विदेश पलायनसम्मको कारक उहाँ धर्मनिरपेक्षता हो भन्दै हुनुहुन्छ । र उहाँको माग छ, संविधान संशोधन गरी हिन्दु राष्ट्रय कामय गरौँ ।
हिन्दु राष्ट्र बनाउने कुरामा उहाँले जस्तो तर्क वा तथ्य पेश गर्न खोजे पनि मुलभूत मुद्दा भनेको संविधान संशोधन लगायतका मुद्दामा सहमति गरेर बनेको नयाँ समीकरण भित्रकै सांसदले उठाएको विषय भने गम्भीर छ । अर्थात् संसदमा प्रस्तुत भएको यो

अभिव्यक्तिमा नेकपा एमालेको भनाइ हो वा समर्थन छ भन्ने बुझौँ ।

यस्तै आवाज काग्रेसका तर्फबाट बोक्ने सांसद हुनुहुन्छ शंकर भण्डारी ।
गएको शनिबार उहाँले पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ पुगेर नेपाललाई धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र घोषणा गर्न माग गर्दै ज्ञापन पत्र बुझाउनुभयो । हिन्दु राष्ट्र नेपाल स्थापना अभियानै चलाएर संयोजक बन्नुभएका भण्डारीले

महासमिति बैठकमा समेत बहुमत सदस्यहरुले वैदिक सनातन हिन्दुराष्ट्र नेपालको पक्षमा हस्ताक्षर भएको दाबी गर्नुभएको छ ।
गत वर्ष तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै हिन्दु राष्ट्र स्थापनाको माग गरेका माओवादी नेता रामकुमार शर्मा अहिले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल जसपामा प्रवेश गरी महासचिव पद हत्याउन सफल भइसक्नु भएको छ ।

राप्रपा त वर्षौँदेखि राजतन्त्र पुनस्र्थापनासहित हिन्दु राष्ट्र निर्माणको अभियानमै केन्द्रित छ । अरु दलसमेत विस्तारै चुनावी एजेण्डा बनाउने गरी आफ्नो केही न केही नेताहरुलाई हिन्दुराष्ट्रका विषयमा आवाज उठाउन लगाइरहेका छन् । जसमध्ये केही वर्षौँदेखि सिनमै छन् भने केही पात्र ट्रायलका रुपमा अघि सरेका छन् । अरु दलसमेत हिन्दुराष्ट्रको पक्षमा प्रवृत्तिगत रुपमा प्रस्तुत हुन थालेपछि राप्रपालाई भरोसा मिलेको छ । यसले आफ्नो अभियानलाई थप बलियो बनाउने विश्वास राप्रपाको छ ।

हिन्दु राष्ट्रको मुद्दा पछिल्लो निर्वाचनको समयमा पनि राम्रैसँग उचालिएको थियो । तर उक्त निर्वाचन नयाँ र पूराना दलहरुबीचको लडाइँ, प्रतिनिधिसभा विघटन गर्ने र गर्न हुन्न भन्नेबीचको लडाईँ, संविधान बनाउने र जलाउनेबीचको लडाइँमा केन्द्रित हुँदा हिन्दु राष्ट्र ओझेलमा पर्योे ।

अहिले भने निर्वाचन गराउने गरी बनेको नयाँ गठबन्धन सरकारका निकटस्थ नेताहरु हिन्दु राष्ट्रको मुद्दाको प्रभाव निर्वाचनसम्मै पुग्ने गरी एजेण्डा बोकेर हिँडिरहेका छन् । जसले खास्टो ओढेर घ्यू खान पसेका नेताहरुको नियतसमेत उदांगिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *