एकीकृत समाजवादी, अचानोमा असन्तुष्ट
काठमाडौं : नेकपा एकीकृत समाजवादीको पदाधिकारी निर्वाचनको नतिजाले नेपाली राजनीतिक बजार गर्माउने क्रम रोकिएको छैन ।
अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालले आफ्ना एसम्यानलाई ल्याउन गुटबन्दी गरेको भनेर पदाधिकारी निर्वाचनमा पराजित पूर्वपदाधिकारीहरु आगो भएका छन । गुटबन्दीले अब पार्टी नै सक्किने भनेर चिन्ता गरिरहँदा संस्थापन पक्षले भने यसलाई चुनाव हार्नेहरुको गनगन भनेर हलुका रुपमा लिएको छ ।
नेकपा एकीकृत समाजवादीको पदाधिकारी निर्वाचनमा पूर्वपदाधिकारीहरु र प्रभावशाली नेताहरु पराजित भए । महिला उपाध्यक्षमा जयन्ती राईसँग रामकुमारी झाँक्री ठूलो मतान्तरले पराजित हुनुभयो । उपाध्यक्षको पराजित सूचीमा ललितबहादुर बस्नेत, उर्वादत्त पन्त, साध्यबहादुर भण्डारी, विजय पौडेल, केशवलाल श्रेष्ठ, विरोध खतिवडा, बलराम बाँस्कोटाको नाम चढ्यो ।
उपमहासचिवमा जीवनराम श्रेष्ठ, नागेन्द्रप्रसाद चौधरी, रामचन्द्र यादव, महेश रेग्मी, लक्ष्मण केसी, गोमा विष्ट, भवानी खड्कालगायत पराजित हुनुभयो । त्यसैगरी खुल्ला सचिवका लागि भएको प्रतिस्पर्धामा प्रेमलकुमार खनाल, कृष्णप्रसाद शर्मा खनाल, घनप्रसाद
गौतम, दामोदर अर्याल, दीर्घबहादुर सोडारी, धनराज आचार्य, गुरुप्रसाद बुर्लाकोटी, धर्मराज पौडेल, वंशीधर मिश्र, धर्मराज निरौला, राजेन्द्रमान श्रेष्ठले हार बेहोर्नुभयो ।
महिला उपाध्यक्षमा झाँक्रीको पराजयलाई लिएर धेरैले चिन्ता गरेको पाइयो । अध्यक्ष माधवकुमार नेपाल र महासचिव भुसालले बाँडेको चिटमा नाम समावेश नभएपछि झाँक्रीको हार निश्चित थियो । प्रभावशाली नेता विरोध खतिवडा भुसालको सूचीमा परेर पनि पराजित हुनुभयो ।
विजय पौडेलको नाम कुनै पनि सूचीमा थिएन । पार्टी कार्यालयका सचिव जीवनराम श्रेष्ठले पनि दुबै पक्षको सूचीमा ठाउँ नपाउँदा हार बेहोर्नुपर्योम । २०८० पुसमा भएको विधान संशोधनदेखि नै गुट बलियो बनाउने बाटो खुल्यो । पहिला तल्लो तहदेखि अधिवेशनबाट प्रतिनिधि चयन हुँदै महाधिवेशनसम्म आउनु पर्ने प्रावधान थियो । महाधिवेशन प्रतिनिधिले केन्द्रीय कमिटी चयन गर्ने प्रावधान विधानमा थियो तर त्यसलाई परिवर्तन गरेर महाधिवेशनबाट मनोनित गर्ने प्रावधान ल्याइयो । त्यहीँबाट यो धाँधली सुरु भएको असन्तुष्ट नेताहरुको तर्क छ ।
पदाधिकारी निर्वाचनमा पराजित खतिवडाले पोलिटब्यूरो सदस्यमा लोकप्रिय मत पाउँदा श्रेष्ठ दोस्रो र झाँक्री चौथो नम्बरमा पर्नुभयो । यसले पदाधिकारी पराजित भएको घाउमा मलम लगाए पनि दुखाई कम गराएन । पदाधिकारी निर्वाचनको नतिजाले आफ्नो आलोचना गर्ने र मनमा लागेको कुरा खुलस्त राख्नेलाई नेतृत्वले देखी सहँदैन भन्ने पुष्टि गरेको छ । यसले पराजित हुने सबैलाई बिकल्प खोज्न बाध्य बनाउने चेतावनी पनि नेताहरुले दिएका छन ।
पार्टी नेतृत्वले चुनावको आत्मसमीक्षा नगरे बिकल्प रोज्नेसम्मको धम्की दिँदा संस्थापन पक्ष भने चुनाव हारेपछि विभिन्न आरोप लगाउनु आम कुरा भइसकेको प्रतिक्रिया दिन्छ । यसले नेतृत्वको आलोचना गर्ने, पार्टी फुटको औचित्य पुष्टि गर्न चुनौती दिने झाँक्रीहरुलाई एमालेमा फर्कने बाटो खुल्ला भएको आँकलनलाई बल पुगेको छ ।
प्रतिक्रिया