राजनीति

नेपाल-ओमनबीच चार सम्झौताको तयारी

हिमालय टिभी
२०८१ भदौ ११ गते २०:२५
नेपाल-ओमनबीच चार सम्झौताको तयारी

काठमाडौं : श्रम सम्झौता नहुँदा ओमानमा रोजगारीको शिलशिलामा रहेका करिब २५ हजार नेपाली प्रभावित बनिरहेका छन् । त्यसमा पनि घरेलु कामदार अवैद्य बाटोबाट ओमान पुर्याउन थालिएपछि हिंसाका घटनाहरु बढेका छन् । परराष्ट्रमन्त्री आरजु राणा देउवा र ओमानी विदेशमन्त्री सइद बद्र हमाद हमुद अल बुसाइदीबीच यीनै समस्याका विषयमा द्विपक्षीय छलफल भएका छन् ।

दुईदेशबीच श्रमसहित स्वास्थ्य, पर्यटन र परराष्ट्र मामिलाका सम्बन्धमा पनि सम्झौताको तयारी भएको छ ।

– रोजगारीको शिलशिलामा ओमानमा २२ हजार नेपाली
– ३ हजारभन्दा बढी गैरकानूनी रुपमा रहेको अनुमान
– आवश्यकताका आधारमा थप श्रमिक लैजाने ओमानको प्रस्ताव
– गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्न नेपालको प्रस्ताव

नेपाल र ओमानबीच भएको दौत्य सम्बन्धको ४७ वर्षमा पहिलोपटक मस्कटले काठमाडौंमा आफ्नो उच्च भ्रमणका रुपमा विदेशमन्त्री सइद बद्र हमाद हमुद अल बुसाइदी पठाएको हो । नेपालसँग खाडी मुलुकहरुसँग वैदेशिक रोजगार जोडिने गरेको छ । सइद बद्र हमादको यो भ्रमणमा रोजगारका शिलशिलामा जाने नेपाली नागरिकको हित तथा त्यहाँको श्रमिक कानूनबारे छलफल भएको छ । ओमानमा २२ हजार नेपाली रोजगारीको शिलशिलामा रहेको मस्कटस्थित नेपाली राजदूतावासको रेकर्डमा छ । त्यसबाहेक पनि ३

हजार बढी रहेको अनुमान गरिएको छ । मंगलबार भएको द्विपक्षीय छलफलमा परराष्ट्रमन्त्री राणाले नेतृत्व गर्नुभएको थियो भने ओमानबाट विदेशमन्त्री बुसाइदीले नेतृत्व गर्नुभएको थियो ।
मूलतः द्विपक्षीय हित, सम्बन्ध विस्तार र दुबैदेशका साझा चासोका विविध पक्षमा कुराकानी भएको थियो । नेपालले आफ्ना नागरिक रोजगारीको शिलशिलामा ओमान पुग्ने गरेकोतर्फ उनीहरुको सुरक्षा र श्रमिक हितबारे कुरा उठाएको थियो । ओमानी पक्षले पनि नेपाली श्रमिक काममा लगनशील र इमान्दार रहेकाले आवश्यकताका आधारमा थप श्रमिक लैजाने प्रस्ताव गरेको थियो । त्यसका लागि दुबै देश श्रम सम्झौता गर्न तयार बनेका छन् । यसअघि सन् २०१९ अगस्ट मै श्रम सम्झौता तयार भएर दुबै देशका प्रतिनिधिले
मस्यौदामा हस्ताक्षर गरिसकेका थिए ।

त्यसबेला नेपाल सरकारको मन्त्रिपरिषद्ले स्वीकृत गरेपनि ओमानको तर्फबाट बाँकी थियो । अहिलेको यो भ्रमणपछि श्रम सम्झौतामा हस्ताक्षर गर्ने समझदारी बनेको छ । अब प्रक्रिया पूरा गरेर छिट्टै हस्ताक्षर हुने बताइएको छ । ओमानले घरेलु कामदारका लागि पनि सुरक्षाको प्रत्याभूति दिनेभन्दै वैद्य बाटो समात्नु पर्ने आवश्यकता औंल्याएको थियो । त्यसबाहेक नेपालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडानको प्रस्ताव गरेको छ । यसअघि कुवेती विमान कम्पनी जजीराले उडान भर्दै आएको थियो । तर, खर्चिलोभन्दै पछि उडान रोकिएको थियो । अहिले सरकारले भैरहवा र पोखरा दुबै विमानस्थलमा विशेष सुविधा दिने निर्णय गरेको छ । परराष्ट्रमन्त्री राणाले ओमानी समकक्षी बुसाइदीलाई विशेष सुविधाबारे जानकारी गराउनुभएको थियो ।
ओमानले यसमा सकारात्मक जवाफ दिएको परराष्ट्रमन्त्रालयले जानकारी दिएको छ । द्विपक्षीय बैठकमा पर्यटन, सांस्कृति आदान–प्रदान, उर्जा क्षेत्रमा लगानी लगायतका विषयमा पनि छलफल भएको थियो । बैठक पछि परराष्ट्रमन्त्री राणाले श्रम सम्झौतासहित स्वास्थ्य, पर्यटन तथा परराष्ट्र मामिलासम्बन्धी सम्झौताको तयारी भएको जानकारी दिनुभयो ।

नेपालमा पर्यटनका क्षेत्रमा लगानी गर्न ओमान इच्छुक रहेको परराष्ट्रमन्त्री राणाले जानकारी दिनुभयो । बुसाइदीले मंगलबार नै प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *