खेलकूद

साफ यू-२० फाइनल, नेपाल-बंगलादेश तयार

हिमालय टिभी
२०८१ भदौ ११ गते २०:०७
साफ यू-२० फाइनल, नेपाल-बंगलादेश तयार

काठमाडौं : ललितपुरमा जारी साफ अण्डर ट्वेन्टी च्याम्पियनसिपको छैटौं संस्करणको उपाधिका लागि भोलि घरेलु टोली नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।

सेमिफाइनलमा नेपालले भुटान र बंगलादेशले भारतलाई टाईब्रेकरमा हराउँदै उपाधि नजिक पुगेका हुन् । तेस्रो उपाधि जित्ने लक्ष्यमा रहेको नेपाल र पहिलो पटक उपाधि जित्ने योजनामा रहेको बंगलादेशले फाइनलका लागि टोली तयार रहेको बताएका छन् ।
सन् २०१५ मा उमेर समूहको प्रतिस्पर्धा अन्तर्गत नेपालबाटै सुरु भएको यो च्याम्पियनसिपको सुरुवाती २ संस्करण नेपालले जित्यो । १९ वर्षमुनिको उमेर समुहमा खेलाईएको पहिलो संस्करण भारतलाई हराउँदै उपाधि जितेको नेपालले राउण्ड रोविन लिगका आधारमा भएको दोस्रो संस्करणमा बंगलादेशलाई पछि पार्दै उपाधि रक्षा गर्योै ।

त्यसयता ३ संस्करण सम्पन्न हुँदा नेपाल ७ वर्षपछि यो च्याम्पियनसिपको फाइनलमा पुगेको हो । उमेर समुहमा सँधै उपाधिको दाबेदार मानिए पनि नेपाल सेमिफाइनलभन्दा माथि जान सकेको थिएन । घरेलु मैदानमै भएको गत संस्करणमा भारतसँग टाईब्रेकरमा हार्दै नेपाल सेमिफाइनलमै रोकिएको थियो । तर यस पटक भने निरन्तरको तयारीका कारण फाइनलका लागि टोली तयार रहेको कप्तानको विश्वास छ ।

समूह चरण र सेमिफाइनलका खेलहरु अखिल नेपाल फुटबल संघ एन्फाले आफ्नै परिसरमा गरे पनि फाइनल भने दशरथ रंगशालामा गर्ने तयारी गरेको थियो । तर निरन्तरको वर्षाका कारण मैदान हिलाम्य हुँदा फाइनल पनि सातदोबाटोमै हुने तय भएको छ । यो मैदानमा खेल हुनु नेपालका लागि सहज हुने प्रशिक्षकको धारणा छ ।

नेपाली टोलीका प्रशिक्षकको धारणासँग बंगलादेशी टोलीका प्रशिक्षक पनि सहमत छन् । नेपालले यहि मैदानमा लामो समयदेखि प्रशिक्षण गरिरहेको कारण यहाँको फाइदा लिन सक्ने भए पनि सेमिफाइनलमा साबिक विजेता तथा सर्वाधिक ३ पटकको विजेता भारतलाई हराउँदै आफू पनि कम नरहेको बंगलादेशले सन्देश दिइसकेको छ ।

सेमिफाइनलमा घाईते भएका बंगलादेशका कप्तान मोहम्मद मेहदी हुसेन फाइनलमा समेत उपलब्ध हुने छैनन् । विभिन्न उमेर समुहमा हुँदै आएको यो च्याम्पियनसिपमा नेपाल र बंगलादेश ४ पटक आमनेसामने भएका छन् । जसमा नेपालले ३ खेल जित्दा १ खेल बराबरी खेलेको छ ।

३ वटै जितमा नेपालले बंगलादेशलाई समान २-१ गोलले हराएको हो । उपाधिसँगै यि दुई टोलीका खेलाडीबीच सर्वाधिक गोलकर्ताको प्रतिस्पर्धा समेत छ । फाइनलसम्म आउँदा ३ खेलाडी नेपालका निराजन धामी, बंगलादेशका मिराजुल इस्लाम र भुटानका जित्सुन दोर्जीले समान २-२ गोल गरेका छन् ।

तर भुटान बाहिरीसकेको अवस्थामा निराजन र मिराजुलबीच सर्वाधिक गोलकर्ता बन्ने होड छ । फाइनल खेल भोलि दिउँसो साढे २ बजे हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *