पिपल्स च्वाइस विधामा को-को परे ?
काठमाडौं : नेपाली खेल क्षेत्रको प्रतिष्ठित अवार्ड एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरिएको छ ।
आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले ५ खेलाडी समेट्दै मनोनयन सार्वजनिक गरेको हो । भोटिङको आधारमा विजेता चुनिने यो विधाको मनोनयनमा परेका खेलाडी कस्ता छन् त ?
गुलशन झा, क्रिकेट
१६ वर्षको उमेरमै राष्ट्रिय टोलीमा डेब्यू
वर्तमान राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर
कविता भट्ट, भलिबल
काभा महिला नेसन्स लिगमा नेपाललाई फाइनलसम्म पुर्यातउँदा महत्वपूर्ण भूमिका
गत संस्करण काँस्य जित्दा र १९ औं एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व
राष्ट्रिय महिला च्याम्पियनसिपमा उत्कृष्ट सर्भर र एनभीए कपमा उत्कृष्ट ब्लकर
मानमती विष्ट, कबड्डी
एसियाली खेलकुदमा कबड्डीबाट काँस्य जित्दाको महत्वपूर्ण सदस्य
१३औं सागमा कबड्डीबाट रजत जित्न सफल
छैटौं राष्ट्रिय खेलकुदमा ४ सय मिटर हर्डल्स, ८ सय मिटर दौड, ४ गुणा १२ सय मिटर रिले र ४ गुणा ४ सय मिटर रिलेमा स्वर्ण पदक जित्न सफल
कबड्डी सुपर लिग र राष्ट्रिय कबड्डी प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित ।
प्रीति राई, फुटबल
१६ वर्षमै राष्ट्रिय टोलीमा डेब्यू
आठौं वाफ वुमेन्स च्याम्पियनसिपमा नेपाल उपविजेता बन्दा शानदार प्रदर्शन
वाफको सेमिफाइनलमा लेबनानविरुद्ध निर्णायक गोल
श्रीराम श्रेष्ठ, रग्बी
नेपालमा आधुनिक रग्बीका सुरुवाती खेलाडी
१९औं एसियाली खेलकुद, ओलम्पिक छनोट, एसियन रग्बी सेभेन्स र रग्बी फिप्टिन्स खेल्दा टोलीका महत्वपूर्ण सदस्य
रग्बीको प्रर्बद्धनमा महत्वपूर्ण योगदान
एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाइसको मनोनयनमा क्रिकेट खेलाडी गुलशन झा, भलिबलकी कविता भट्ट, कबड्डीकी मानमती बिष्ट, फुटबलकी प्रीति राई र रग्बीका श्रीराम श्रेष्ठ परेका छन् । पछिल्लो समय राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शन र पाएको चर्चाको आधारमा यी पाँच खेलाडीलाई मनोनयन गरिएको हो ।
मनोनयनमा परेका पाँच खेलाडीको योगदान र विवरण हेरौं
गुल्शन झा, क्रिकेट
१६ वर्षको उमेरमै राष्ट्रिय टोलीमा डेब्यु गरेका अलराण्डर गुल्शन नेपाली राष्ट्रिय क्रिकेट टोलीका महत्वपूर्ण सदस्य हुन् । नेपाललाई पहिलो पटक एसिया कपमा पुर्याउन झाले एसिसी प्रिमियर कपको फाइनलमा युएईविरुद्ध १ विकेट र नटआउट ६७ रनको महत्वपूर्ण योगदान दिएका थिए । आइसीसी ट्वेन्टी ट्वेन्टी विश्वकप एसिया छनोटको फाइनलमा ओमानविरुद्ध नेपालका लागि सर्वाधिक ५४ रनको योगदान गरेका झा पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेका हुन् ।
कविता भट्ट, भलिबल
हालै काठमाडौंमा सम्पन्न काभा महिला नेसन्स लिगमा नेपाललाई फाइनलसम्म पुर्याउँदा टोलीका महत्वपूर्ण सदस्य थिइन् कविता भट्ट । कविताले काभामै गत संस्करण काँस्य जित्दा र चीनको हान्झाउमा सम्पन्न १९ औं एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गरेकी छिन् । आफ्नो क्लब एपीएफलाई ढोरपाटन महिला डबल लिग, राष्ट्रिय महिला च्याम्पियनसिप र टाइगर कपमा उपाधि दिलाउन महत्वपूर्ण भुमिका उनै कविताको थियो । राष्ट्रिय महिला च्याम्पियनसिपमा उत्कृष्ट सर्भर र एनभिए कपमा उत्कृष्ट ब्लकर कविता यो अवार्डका लागि मनोनयनमा परेकि अब्बल खेलाडी हुन् ।
मानमती विष्ट, कबड्डी
१९औं एसियाली खेलकुदमा कबड्डीबाट ऐतिहासिक कांस्य पदक जित्दा नेपालकी महत्वपुर्ण सदस्य मनमती विष्ट
१२औं सागमा एथ्लेटिक्सबाट सहभागी मानमती कबड्डीबाट नेपाललाई १३औं सागमा रजत पदक दिलाउन सफल भएकी थिइन् । छैटौं राष्ट्रिय खेलकुदमा एथ्लेटिक्सको ४ सय मिटर हर्डल्स, ८ सय मिटर दौड, ४ गुणा १२ सय मिटर रिले र ४ गुणा ४ सय मिटर रिलेमा स्वर्ण पदक जित्न सफल खेलाडी हुन् विष्ट । कबड्डी सुपर लिग र राष्ट्रिय कबड्डी प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित मनमती पनि यो अवार्डको प्रवल दाबेदार हुन् ।
प्रीति राई, फुटबल
१६ वर्षमै राष्ट्रिय टोलीमा डेब्यु गरेकी मिडफिल्डर हुन् प्रिति राई । गतवर्ष साउदी अरेबियामा सम्पन्न आठौं वाफ वुमेन्स च्याम्पियनसिपमा नेपाल उपविजेता बन्दा उनले प्रेरणादायी प्रदर्शन गरेकी थिइन् । वाफको सेमिफाइनलमा लेबनानविरुद्ध निर्णायक गोलकर्ता प्रिती पनि यो अवार्डको प्रवल दाबेदार हुन् ।
श्रीराम श्रेष्ठ, रग्बी
नेपालमा आधुनिक रग्बी सुरु गर्दाका सुरुवाती खेलाडीमा पर्छन् श्रीराम श्रेष्ठ । घरेलु प्रतियोगितामा आफ्नो कप्तानीमा बागमती प्रदेशलाई च्याम्पियन बनाउन सफल श्रीराम १९औं एसियाली खेलकुद, ओलम्पिक छनोट, एसियन रग्बी सेभेन्स र रग्बी फिप्टिन्स खेल्दा टोलीका महत्वपूर्ण सदस्य हुन् । नेपालमा रग्बीको प्रर्बद्धनमा महत्वपूर्ण योगदान दिएका श्रीरामलाई पनि यो अवार्डको दाबेदार मानिइएको छ ।
यस विधाको मनोनयनमा परेका खेलाडीलाई इ-सेवामा गरेको मतभार ५० प्रतिशत, फेसबुकको मतभार २५ प्रतिशत तथा मञ्चका सदस्य खेल पत्रकार र राष्ट्रिय खेल संघका प्रशिक्षकको मतभार समान १२.५ प्रतिशत गरि धेरै भोट पाउने खेलाडीलाई विजेता घोषणा गरिनेछ । विजेताले बजाजको पल्सर एनएस ४०० सिसी मोटरसाइकल प्राप्त गर्नेछन् । त्यस्तै, वर्ष उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा खेलाडी र उत्कृष्ट प्रशिक्षकको विजेताले पनि पल्सर मोटरसाइकल पाउनेछन् । यो ५ विधा बाहेक पारा एथलिट सम्मान, स्पेसल अवार्ड, टिम अफ द एयर, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोटर्स जर्नालिस्ट अवार्ड गरी १० विधामा अवार्ड प्रदान गरिनेछ । यी विधाका विजेताले एक लाख नगद पाउनेछन् । अवार्ड कार्यक्रम भदौ २८ गते काठमाडौंमा हुनेछ ।
प्रतिक्रिया