साफ यू-२० च्याम्पियनसिपमा नेपाल समूह विजेता
काठमाडौं : बंगलादेशलाई हराउँदै घरेलु टोली नेपाल समुह विजेताका रुपमा ललितपुरमा जारी साफ अण्डर ट्वेन्टी च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको समुह ए को अन्तिम खेलमा नेपालले बंगलादेशलाई २-१ गोलले हरायो । नेपालको जितमा समिर तामाङ र निराजन धामीले गोल गरे । २ गोलले पछि परेको बंगलादेशले पहिलो हाफका अन्त्यमा मिराजुल इस्लामको गोलबाट अन्तर घटायो ।
दोस्रो हाफमा बंगलादेशले तुलनात्मक रुपमा बढी अवसर सिर्जना गरे पनि गोल गर्न सकेन । इन्ज्युरी समयको अन्तिम मिनेटमा गोलरक्षक जियारत शेखले फ्रिकिकमा आएको हेडरमा सानदार बचाउ गर्दै नेपालको जित पक्का गरे । जितसँगै २ खेलमा ६ अंक जोड्दै नेपाल समुह ए को विजेत बन्दै सेमिफाइनल प्रवेश गरेको छ । नेपाल र बंगलादेशले आ आफ्नो पहिलो खेलमा श्रीलंकालाई हराएको थियो ।
बंगलादेश ३ अंक सहित उपविजेता बन्दा श्रीलंका अंक विहिन हुँदै घर फर्कियो । अब नेपालले समुह बी को उपविजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । समुह बी मा ३ वटै टोलीको सेमिफाइनल पुग्ने सम्भावना बाँकी छ । १-१ जितेका भारत र भुटानको समान ३-३ अंक छ । अंक विहिन माल्दिभ्सले अन्तिम खेलमा जित निकालेको खण्डमा ३ वटै टोलीको समान अंक हुनेछ । यस्तोमा गोल अन्तरका आधारमा शीर्ष २ टोलीले अन्तिम ४ को यात्रा तय गर्नेछ । समुहको अन्तिम खेलमा भोली भारत र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया