साफ च्याम्पियनसिप : रोचक बन्दै प्रतिस्पर्धा
काठमाडौं : ललितपुरमा जारी साफ अण्डर ट्वेन्टी च्याम्पियनसिपमा आज भुटानले माल्दिभ्सविरुद्ध रोमाञ्चक जित निकाल्दै सेमिफाइनल पुग्ने आशा जिवितै राखेको छ ।
पहिलो खेलमा भारतसँग हारेको भुटानले पहिलो खेल खेल्दै गरेको माल्दिभ्सलाई हराएसँगै समुह बी बाट सेमिफाइनल पुग्न ३ वटै टोलीको सम्भावना बाँकी रह्यो । अब भारत र माल्दिभ्सबीच हुने अन्तिम खेलले यो समुहबाट सेमिफाइनल पुग्ने २ टोलीको टुङ्गो लाग्नेछ ।
निरन्तर वर्षाकाबीच एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा भुटान दबाबमा थियो । समुह बी को पहिलो खेलमा भारतसँग १-० गोलले हारेको भुटानलाई सेमिफाइनल पुग्न माल्दिभ्सविरुद्धको खेल जित्नै पर्ने दबाब थियो । जारी प्रतियोगितामा पहिलो खेल खेल्दै गरेको माल्दिभ्सविरुद्ध सुरुवातदेखिनै आक्रमक खेलेको भुटानले २१ औं मिनेटमा अग्रता लियो ।
जिग्नम सेल्तोब दोर्जीले बायाँ भागबाट दिएको क्रस पास बचाउने क्रममा माल्दिभ्सका गोलकिपर बिट हुँदा जितसुन दोर्जीले सहजै गोल गरे । तर दोस्रो हाफको सुरुवातमै भुटान १० खेलाडीमा सिमित भयो । उसका गोलकिपर लोचो निमाले डिबक्स बाहिर हातले बल छोएपछि रातो कार्ड पाए ।
लगतै पाएको फ्रिकिकमा फिरकले गोल गर्दै माल्दिभ्सलाई खेलमा फर्काए । तर खेलको निर्धारित समयको अन्तिम मिनेटमा जितसुनकै पासमा नोवाङ चोपेलले भुटानको जित पक्का गरे । जितसँगै यो समुहमा भुटान र भारत समान ३-३ अंक जोड्दै सेमिफाइनल नजिक पुगेका छन् । अब समुहको अन्तिम खेलमा माल्दिभ्स हारेको खण्डमा भारत र भुटान सेमिफाइनल पुग्नेछन् ।
भारत पराजित भएमा यो समुहबाट ३ वटै टोलीको समान ३-३ अंक हुनेछ । यस्तोमा गोल अन्तरका आधारमा २ टोली अन्तिम ४ मा पुग्नेछन् । जसले समुह ए का नेपाल वा बंगलादेशसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।
मंगलबार बंगलादेशले श्रीलंकालाई २-० गोलले हराएपछि नेपाल एक खेलअघि नै सेमिफाइनल प्रवेश गरेको हो । नेपालसँगै बंगलादेशले पनि अन्तिम खेल अघिनै सेमिफाइनलमा स्थान बनायो । समुह ए को पहिलो खेलमा पनि नेपालले श्रीलंकालाईनै १-० गोलले हराएको थियो । लगातार २ हारपछि श्रीलंका भने समुह चरणबाटै बाहिरिएको छ । अब बिहिबार नेपाल र बंगलादेशबीच हुने यो समुहको अन्तिम खेलले समुह विजेताको टुङ्गो लाग्नेछ ।
प्रतियोगितामा ४ खेल सम्पन्न हुँदा ६ गोल भएका छन् । जसमा बंगलादेश र भुटानले २-२ गोल गर्दा नेपाल र भारतले १-१ गोल गरेका छन् । समुह चरणका खेल एन्फा कम्प्लेक्समा खेलाए पनि सेमिफाइनल र फाइनलका खेल दशरथ रंगशालामा खेलाउने एन्फाको तयारी छ । दक्षिण एसियाका ६ टोली सहभागी प्रतियोगिताको फाइनल १२ गते हुनेछ ।
प्रतिक्रिया