रास्वपाको जग हसाउने निर्णय, आफै स्वार्थ बाझिएका मन्त्रालयमा मरिहत्ते गर्ने, अनि…
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले फेरि एकपटक जग हसाउने निर्णय गरेको छ । बुधबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले सुशासनका विषयमा गम्भीर चिन्ता गर्दै त्यस्तो निर्णय गरेको हो । जुन निर्णय सार्वजनिक हुन नपाउँदै आलोचित बनेको छ ।
सह–प्रवक्ता मनिष झा भन्दै हुनुहुन्छ, स्वार्थ बाझिने गरी भएको मन्त्री नियुक्तिविरुद्ध संसदमा बुलन्द आवाज उठाउने ।
स्वार्थ बाझिने गरी भएको मन्त्री नियुक्तिविरुद्ध सदनमा आवाज बुलन्द पार्ने, यसविरुद्ध बोल्न नागरिक समाजलाई समेत आह्वान गर्ने ।
अब एकपटक २०७९ पुस ११ मा फर्किऔँ ।
उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारीसहित रास्वपा सभापति रवि लामिछाने सरकारमा सहभागी । त्यतिबेलै लामिछानेमाथि दोहोरो नागरिकता र राहदानी दुरुपयोगको मुद्दा थियो । नागरिकताकै कारण लामिछानेको गृहमन्त्रीसहित सांसद पदसमेत खारेज भएको सम्झना छ नि ?
एकपटक मात्र होइन, दोहोर्याकएरै लामिछानेले गृहमन्त्री पद लिनुभयो, स्वार्थ बाझिने गरी । २०८० फागुन २३ गते गठबन्धन परिवर्तन भएर फेरि लामिछाने सरकारमा सहभागी हुँदा पनि त्यही मन्त्रालय लिनुभयो जसमा उहाँको स्वार्थ थप बाझिने घटनाक्रम विकसित भएका थिए । नागरिकताको मुद्दा सल्टिसके पनि राहदानी प्रकरण बाँकी थियो । अनि सहकारीका बचतकर्ताको रकम अपचलनको आरोप थियो । तर लामिछाने गृहमन्त्रालयकै नेतृत्व गरेर सरकारमा जानुभयो ।
लामिछाने आफू मात्र होइन,
दोस्रो पटक सरकारमा सहभागी हुँदा मेनपावर व्यवसायीसमेत रहेका डोलप्रसाद अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनाउनुभयो । अर्याल अघिल्लोपटक समेत यसैगरी सोही मन्त्रालयमा जानुभएको थियो ।
अघिल्लोपटक सरकारमा सहभागी हुँदा लामिछानेले शिक्षासम्बन्धी गैरसरकारी संस्था चलाइरहेका शिशिर खनाललाई शिक्षा मन्त्री बनाइदिनुभयो ।
अर्थात् रास्वपाले आफू सरकारमा हुँदासम्म स्वार्थ बाझिने मन्त्रालय नै लिइरह्यो, एकपटक होइन पटकपटक । इन्फ्लुएन्सरका रुपमा आम नागरिकको ब्रेन वाश गरिरहेको यो पार्टीका नेताहरुले स्वार्थ बाझिने गरी गतिविधि गरिरहे ।
र अन्ततः आफू सरकारमा नहुँदा स्वार्थ बाझिने गरी भएको मन्त्री नियुक्तिको विरोध गर्ने निर्णय गर्न पछि परेनन् ।
सरकारलाई झकझक्याउनु, खबरदारी गर्नु प्रतिपक्षी दलको धर्म नै हो । तर त्यसका लागि आधारभूत नैतिकता आवश्यक पर्छ । जसले आफ्नो पालामा, दुई महिनाअघिसम्म समेत खुलेआम अनैतिक काम गरिरहे । उनीहरुले अचानक नैतिकता देखाउन खोज्दा जग हँसाइ भएको छ ।
प्रतिक्रिया