प्रधानमन्त्री कप क्रिकेटमा एपीएफसँग बागमती पराजित, कर्णालीले गण्डकीलाई हरायो
![प्रधानमन्त्री कप क्रिकेटमा एपीएफसँग बागमती पराजित, कर्णालीले गण्डकीलाई हरायो](https://www.himalayatv.com/wp-content/uploads/2024/01/pm-cup-cricket.jpg)
२९ पुस २०८० काठमाडौं । युवा ब्याटर सन्दीप जोराको शतक र कप्तान रोहित पौडेलको उत्कृष्ट बलिङमा नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशलाई ८९ रनले पराजित गरेको छ । बागमतीको भने यो लगातार दोस्रो हार हो ।
जितको लागि २ सय ४२ रनको मध्यम विजयी लक्ष्य पछ्याएको बागमती ४२ दशमलव ५ ओभरमा १ सय ५२ रनमा अल आउट भयो । बागमतीका कप्तान रित गौतमले सर्वाधिक ६६ रन बनाए । ओपनर आशुतोष घिरैयाले ४१ रन बनाए ।
अन्य कुनैपनि बागमतीका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । एपीएफका रोहित पौडेलले ९ ओभरमा १ मेडनसहित २६ रन खर्चेर ४ विकेट लिए । अभिनाश बोहरा र श्याम ढकालले २–२ विकेट लिए । त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४१ रन बनाएको थियो ।
एपीएफको जितमा सन्दीप जोराले १ सय १२ रनको शतकीय इनिङ खेले । उनले १ सय ३ बलमा आफ्नो करिअरको पहिलो शतक पूरा गरेका थिए । एपीएफको सुरुवात खराब रहेपनि सन्दीपले खेलमा फर्काएका थिए ।
आजै भैरहवामा भएको खेलमा गण्डकी प्रदेश कर्णालीसँग ७ विकेटले पराजित भएको छ । गण्डकीले दिएको १२३ रनको लक्ष्य पछ्याएको कर्णालीले ३३ दशमलव २ ओभरमा ३ विकेट गुमाउँदै १२६ रन बनायो । कर्णालीको जितमा हिमान्शु शाहीले अविजित रहँदै सर्वाधिक ५३ रन बनाए । ओपनर निश्चल रावलले २९ रन बनाए ।
उनी पनि अविजित रहे। अर्का ओपनर तथा कप्तान रवीन्द्र शाहीले २० रन बनाउँदा अर्जुन घर्ती १० रनमा अविजित रहे। विपिन शाही भने ६ रनमा पेभिलियन फर्किए । गण्डकीका अंकित न्यौपानेले सर्वाधिक २ विकेट लिएर विपिन खत्रीको नाममा १ विकेट रह्यो ।
त्यसअघि सिद्धार्थ क्रिकेट मैदान भैरहवामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गण्डकीले निर्धारित ४५ ओभरमा ९ विकेट गुमाउँदै १२२ रन बनाएको थियो । गण्डकीको यो लगातार दोस्रो हार हो ।
प्रतिक्रिया