खेलकूद

कोशीलाई ११ रनले हराउँदै एपीएफले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि

हिमालय टिभी
२०८० पुष १८ गते १५:०३
कोशीलाई ११ रनले हराउँदै एपीएफले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि

१८ पुस २०८० काठमाडौं । कोशी प्रदेशलाई ११ रनले हराउँदै एपीएफ क्लबले प्रधानमन्त्री कप महिला ट्वेन्टीट्वेन्टी राष्ट्रिय प्रतियोगिताको उपाधि जितेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज सम्पन्न फाइनलमा १ सय १५ रनको विजयी लक्ष्य पछ्याएको कोशी ले पुरै २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ३ रनमात्र बनाउन सक्यो ।

छैटौं ओभरको पहिलो बलमा अप्सरी बेगमलाई गुमाएको कोशीका लागि कप्तान रुविना क्षेत्री र काजल श्रेष्ठले ६० रनको साझेदारी गर्दै पाली सम्हाले । काजल २२ रन बनाएर आउट हुँदा रुविनाले ६२ रनको अर्धशतकीय पाली खेलिन ।

अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन नसक्दा कोशी उपाधिबाट बञ्चित भयो । एपिएफका लागि करुणा भण्डारी र सिता रानामगरले १–१ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय १४ रन बनायो । १० औं ओभरको पहिलो बलमा दोस्रो विकेट गुमाउँदा इन्दुले रोमा थापासँग ३३ रनको साझेदारी गरिन् ।

रोमाले १४ रन बनाउँदा ओपनर ज्योति पाण्डेले २७ रन बनाइन । अन्तिम ओभरमा अलराउण्डर अप्सरी बेगमले ह्याट्रिक विकेट लिँदै कोशीलाई खेलमा फर्काइन । ओभरको पहिलो बलमा अप्सरीले एपिएफकी इन्दुलाई नम्रता श्रेष्ठबाट क्याच आउट गरिन । ४७ बलमा १ छक्का र ६ चौका प्रहार गरेकी इन्दुले सर्वाधिक ५३ रन जोडिन ।

त्यहि ओभरको दोस्रो बलमा अप्सरीले नेरी थापालाई स्टम्पिङ गर्दा तेस्रो बलमा सोनु खड्कालाई बोल्ड गर्दै ह्याट्रिक गरिन । बलिङमा कोशीकी अप्सरीले प्रतियोगिताकै पहिलो ह्याट्रिक गर्दा अलिशा खडियाले २ तथा कप्तान रुविना क्षेत्री र निशा शाहले १९१ विकेट लिइन । जितसँगै उपाधि विजेता एपिएफले ५ लाख र उपविजेता कोशीले ३ लाख प्राप्त गरेको छ ।

एपिएफलाई उपाधि जिताउँदै नेपाली क्रिकेट टोलीकी ओपनर तथा विकेटकिपर समेत रहेकी ज्योती पाण्डेले राष्ट्रिय र घरेलु दुवै खेलाडी जिवनबाट सन्न्यास लिएकी छिन् । सन् २०१६ मा थाईल्याण्डमा भएको एसिसी वुमन्स एसिया कपमा पाकिस्तानविरुद्ध सिनियर टोलीमा डेब्यू गरेकी ज्योतीलाई त्रिवि मैदानमा गार्डअफ अर्नर दिँदै खेलाडी जिवनबाट सुखद विदाई गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्