खेलकूद

प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वेन्टी-ट्वेन्टी क्रिकेटमा एपीएफ र कोशी प्रदेश विजयी

हिमालय टिभी
२०८० पुष ११ गते १३:२६
प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वेन्टी-ट्वेन्टी क्रिकेटमा एपीएफ र कोशी प्रदेश विजयी

११ पुस २०८० काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वेन्टी-ट्वेन्टी क्रिकेटमा एपीएफ र कोशी प्रदेश विजयी भएका छन् ।

प्रतियोगिता अन्तर्गत आज विहान कीर्तिपुरको त्रिवी क्रिकेट मैदानमा एपीएफले कर्णाली प्रदेशलाई ९२ रनले पराजित गरेको छ । १ सय ६१ रनको विशाल लक्ष्य पछ्याएको कर्णालीले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै ६८ रनमात्र बनाउन सक्यो ।

कर्णालीकी तिर्सना बिश्वकर्माले १९, गौरी बोहराले १२ तथा रश्मी खड्काले १० रन बनाइन् । बलिङतर्फ एपीएफकी करुणा भण्डारीले ४ र रेखा रावलले दुई विकेट लिइन् । यसअघि टस जितेर ब्याटिङ गरेको एपीएफले निर्धारित ओभरमा मात्र २ गुमाउँदै १ सय ६० रन बनाएको ।

एपीएफकी राजमती ऐरीले ६७ तथा ममता चौधरीले ६२ रन बनाइन् । त्यस्तै रोमा थापा १४ रनमा नटआउट रहिन् । बलिङमा कर्णालीकी तिर्सना विश्वकर्माले १ विकेट लिइन् । जितसँगै पाँच खेलमा अपराजित रहँदै एपीएफ शीर्ष स्थानमा कायमै छ । कर्णाली ५ खेलसम्म जितविहिन छ ।

उता मूलपानी क्रिकेट मैदानमा कोशी प्रदेशले गण्डकी प्रदेशलाई ५५ रनले हरायो । १ सय ४ रनको मध्यम लक्ष्यसहित मैदान ओर्लिएको गण्डकी १५ ओभर खेल्दै ४८ रनमा अलआउट भयो ।

गण्डकीकी सुमन खतिवडाले २१ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् । गण्डकीका पाँच ब्याटर शुन्य रनमा आउट भएका थिए । बलिङमा कोशीकी रुबिना क्षेत्रीले ३ तथा संगीता राई र एलिशा काडियाले समान दुई विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको कोशीले निर्धारित ओभरमा ८ विकेटको नोक्सानीमा १ सय ३ रन बनाएको थियो ।

कोशीले संगीता राई २३ रनमा अविजित रहिन् । त्यस्तै बिमला महराले २५ तथा लकिता राजवंशीले २२ रन जोडिन् । बलिङमा गण्डकीकी कुसुम गोदर र सृष्टि जैशीले दुई दुई विकेट लिइन् । जितसँगै कोशी पाँच खेलमा ४ जितसहित दोस्रो स्थानमा कायमै छ । उता गण्डकी समान खेलबाट एक जितसहित छैटौं स्थानमा छ ।

अहिले बागमती र लुम्बिनी प्रदेश तथा मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्