खेलकूद

प्रधानमन्त्री कप महिला ट्वेन्टीट्वेन्टीमा कोशी र एपीएफ विजयी

हिमालय टिभी
२०८० पुष ८ गते १३:४२
प्रधानमन्त्री कप महिला ट्वेन्टीट्वेन्टीमा कोशी र एपीएफ विजयी

८ पुस २०८० काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वेन्टीट्वेन्टी क्रिकेटमा कोशी प्रदेश र विभागीय टोली एपीएफ विजयी भएका छन् ।

प्रतियोगितामा लगातार तेस्रो जित निकाल्ने क्रममा कोशीले मधेश प्रदेशलाई ६० रनले हरायो । १ सय ३० रनको लक्ष्यसहित मैदान ओर्लेको मधेशले निर्धारित २० ओभरमा ९ विकेटको नोक्सानीमा ६९ रनमात्र बनाउन सक्यो ।

मधेशकी सना परविन २७ रनमा अविजित रहँदा आरती महतोले १८ रन बनाइन् । त्यसबाहेक मधेशका कुनै ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् । मधेशलाई सस्तैमा समेट्न कोशीकी शबनम राई र एलिसा खाडिएले दुई(दुई विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कोशीले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै १ सय २९ रन बनाएको थियो । कोशीकी कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ५७ रन बनाइन् ।

त्यस्तै अप्सरी बेगममा ३९ रनमा आउट हुँदा शबनम राई १६ रनमा अविजित रहिन् । बलिङमा मधेशकी मिना महतोले २ विकेट लिइन् । लगातार तीन खेलमा विजयी कोशी तालिकाको दोस्रो स्थनमा रहँदा तीन खेलमा पराजित मधेश सातौं स्थानमा छ ।

उता मूलपानी क्रिकेट मैदानमा एपीएफले लुम्बिनी प्रदेशमाथि ९० रनको फराकिलो जित निकाल्यो । १ सय ५२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित ओभरमा ९ विकेट गुमाएर ६१ रनमात्र बनायो छ ।

लुम्बिनीकी लक्ष्मी चौधरीले २८ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकको रन बनाएनन् । एपीएफकी इन्दु बर्माले ३ तथा बिन्दु बुढाले दुई विकेट लिइन् । यसअघि टस जितेर ब्याटिङ गरेको एपीएफले निर्धारित ओभरमा ३ विकेटको नोक्सानी १ सय ५१ रन बनाएको थियो ।

एपीएफकी इन्दु बर्मा ७० रनमा नटआउट रहँदा ममता चौधरीले ५९ रन बनाइन् । बलिङतर्फ लुम्बिनीकी सरस्वती पुन र शर्मीला रोक्काले १(१ विकेट लिइन् । लगातार तेस्रो जितसँगै एपीएफ शीर्ष स्थानमा कायमै रहँदा लुम्बिनी तीन खेलमा एक जितसिहत छैठौं स्थानमा छ ।

अहिले कर्णाली र सुदूरपश्चिम तथा बागमती र गण्डकी प्रदेशबीच खेल भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्