एनएसएल फुटबलमा आज झापा र इलाम भिड्दै

११ मंसिर २०८० काठमाडौं । काठमाडौंमा जारी नेपाल सुपर लिग एनएसएलमा आज दुई नयाँ टोली झापा एफसी र स्पोर्टिङ इलाम एफसी भिड्दै छन् ।
खेल अपरान्ह साँढे पाँच बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । इलाम उद्घाटन खेलमै साविक विजेता काठमाडौं रेजर्ससँग १–० ले पराजित भएको थियो । उता झापाको लागि भने यो सिजनको यो पहिलो खेल हुनेछ ।
राष्ट्रिय टोलीका लागि हरि खड्का र निराजन रायमाझीसँगै सर्वाधिक १३ गोल गर्ने कीर्तिमान बराबरी गरेका अन्जन विष्ट झापाको मार्की छन् । झापाको टिममा अन्जनसँगै राष्ट्रिय टिममा रहेका योगेश गुरुङ, छिरिङ लामा र लकेन लिम्बु पनि छन् ।
झापाले विदेशी खेलाडीमा स्पेनकै दुई जना अनुबन्ध गरेको छ । एनएसएल खेल्ने ९ टोलीमध्ये झापाले मात्र अफ्रिकन खेलाडी राखेको छैन । उता इलामको कप्तान तथा मार्कीमा गोलकिपर विकेश कुथु छन् ।
इलाममा राष्ट्रिय टिमबाट खेलिसकेका अनुभवी भरत खवास, जितेन्द्र कार्की र नवीन लामा पनि छन् भने सन्यास लिइसकेका राष्ट्रिय टिमका पूर्वकप्तान विराज महर्जन पनि छन् । विदेशीतर्फ इलाममा सेनेगलका एकेडेमीमा खेलेका युवा खेलाडीहरु छन् ।
यसअघि हिजोको खेलमा साबिक उपविजेता धनगढी एफसीले विरगन्ज युनाइटेड एफसीलाई २–१ गोलले पराजित गरेको थियो ।
प्रतिक्रिया