एनएसएल फुटबल : डिडियर ड्रोग्बा आउने, को-को छन् विदेशी खेलाडी ?(भिडियो रिपोर्टसहित)

३ मंसिर २०८० काठमाडौं । यसै साता सुरु हुने नेपाल सुपर लिग एनएसएलको दोस्रो संस्करण विभिन्न कारण फुटबल समर्थकमा चर्चाको विषय बनेको छ ।
आइभरी कोस्टका स्टार फुटबलर डिडियर ड्रोग्बा आउने खबरसँगै प्रतियोगितामा सहभागी टोलीले अनुबन्ध गरेका स्तरीय विदेशी खेलाडीका कारण पनि पनि एनएसएल प्रति समर्थक उत्साहि बनेका छन् ।
घरेलु फुटबलमा पहिलो फ्रेन्चाईज प्रतियोगिता नेपाल सुपर लिग एनएसएलको दोस्रो संस्करण आउँदो शुक्रबारदेखि काठमाडौंमा हुँदैछ । नेपालमा फुटबल माहोल फर्काउने अपेक्षा गरिएको एनएसएल विभिन्न कारण चासो विषय बनेको छ । त्यसमध्ये एक हो, विभिन्न देशका स्तरीय खेलाडीको सहभागिता । यस पटक टोलीहरुले नेपाली फुटबलमा परिचितदेखि विश्वकप र युरोपेली लिग खेलिसकेका खेलाडी समेत अनुबन्ध गरेका छन् ।
पहिलो संस्करण एक टोलीले ३ जना मात्र विदेशी खेलाडी राख्न पाउनेमा यस पटक संख्या बढाएर ५ बनाइएको छ । सहभगी ९ टोलीले ५(५ विदेशी खेलाडी राख्दा कुल ४५ विदेशी खेलाडी एनएसएलमा देखिनेछन् । यसमा अधिकांश अफ्रिकी मुलुकका छन् भने युरोप र एसियाका खेलाडी पनि टोलीमा समावेश गरिएको छ ।
उनीहरुमध्ये एफसी चितवनले अनुबन्ध गरेका घानाका खेलाडी अफ्रियिए एक्वाह विश्वकप खेलिसकेका खेलाडी हुन् । सन् २०१४ मा ब्राजिलमा भएको फिफा विश्वकपमा उनले पोर्चुगलविरुद्ध खेलेका थिए । त्यस्तै, धनगढी एफसीमा आबद्ध सेनेगलका डिफेन्डर फलु डियाग्ने जर्मन बुण्डेस लिगा खेलिसकेका खेलाडी हुन् । यसबाहेक विभिन्न उमेर समूहमा फिफा विश्वकप खेलेका अनुभवी खेलाडी पनि यस पटक एनएसएलमा देखिनेछन् ।
सहभागी ९ वटै टोलीले आफ्ना विदेशी खेलाडी सर्वाजनिक गरिसकेका छन् ।
कुन टोलीमा कुन खेलाडी छन् हेरौं,
साबिक विजेता काठमाडौं रेजर्समा क्यामरुनका ३ र उज्वेकिस्तानका २ खेलाडी छन् ।
साबिक उपविजेता धनगढी एफसीमा नाईजेरिया, सेनेगल, इङ्ल्याण्ड, लेबनान र घानाका १-१ खेलाडी छन् ।
ललितपुर सिटी एफसीमा नाइेजरिया र फ्रान्सका २-२ र प्यालेस्टाइनका १ खेलाडी छन् ।
एफसी चितवनमा घानाका ४ र स्पेनका १ खेलाडी अनुबन्ध गरिएको छ ।
पोखरा थन्डर्सले क्यामरुनका ३ र घानाका २ खेलाडी भित्र्याएको छ ।
बुटवल लुम्बिनी एफसीमा क्यामरुनका ४ र आइभरी कोस्टका १ खेलाडी छन् ।
पहिलो पटक खेल्न लागेको स्पोर्टिङ इलाम दी मेची एफसीमा सेनेगलका ४ र गुएनाका १ खेलाडी समावेश गरिएको छ ।
झापा एफसीले सर्बिया, अमेरिका र उज्वेकिस्तानका १-१ तथा स्पेनका २ खेलाडी अनुबन्ध गरेको छ ।
त्यस्तै, वीरगञ्ज युनाइटेड एफसीले घानाका ४ र कंगोका १ खेलाडी समावेश गरेको छ ।
प्रतिक्रिया