खेलकूद

विश्वकप क्रिकेटको उपाधिका लागि भारत र अष्ट्रेलिया भिड्दै

हिमालय टिभी
२०८० मंसिर ३ गते १३:३१
विश्वकप क्रिकेटको उपाधिका लागि भारत र अष्ट्रेलिया भिड्दै

३ मंसिर २०८० काठमाडौं । आईसीसी विश्वकप क्रिकेटको उपाधिका लागि आज घरेलु टोली तथा २ पटकको विजेता भारत र सर्वाधिक सफल ५ पटकको विजेता अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ ।

नरेन्द्र मोदी स्टेडियम अहमदावादमा हुने फाइनल खेल दिउँसो सवा २ बजे सुरु हुनेछ । जारी विश्वकपमा उच्च लयमा रहेको भारत त्यसैलाई निरन्तरता चाहन्छ भने लिग चरणमा भोगेको हारको बदला लिँदै अष्ट्रेलिया घरेलु टोलीलाई फाइनलमा स्तब्ध पार्ने दाउमा छ ।

आईसीसी एक दिवसिय विश्वकप क्रिकेटका २ सफल टोली अष्ट्रेलिया र भारतबीच यस संस्करणको उपाधिका लागि आइतबार दिउँसो अहमदावादमा प्रतिस्पर्धा हुँदैछ । ५ पटकको विजेता अष्ट्रेलियाले विश्वकप फाइनल खेल्न लागेको यो आठौं पटक हो । २ पटक उपाधि जितिसकेको भारतका लागि यो चौंथो विश्वकप फाइनल हुनेछ ।

हेड टू हेड
यी २ टोलीबीच एक दिवसीय अन्तर्राष्ट्रियमा १५० खेल हुँदा अष्ट्रेलिया नै बलियो देखिन्छ । भारतले ५७ खेल जित्दा अष्ट्रेलियाले ८३ खेल जितेको छ, बाँकी १० खेल नतिजा विहिन बनेका छन् । एक दिवसिय विश्वकपमा मात्र यी दुई १३ पटक आमनेसामने भइसकेका छन् ।

जसमा अष्ट्रेलियाले ८ र भारतले ५ खेल जित्दा फाइनलमा यी दुईबीच भेट हुन लागेको यो दोस्रो पटक हो । यसअघि सन् २००३ मा दक्षिण अफ्रिकामा भएको फाइनलमा अष्ट्रेलियाले भारतलाई डिएल मेथडमा ४८ रनले हराएको थियो । पछिल्लो पटक यसै विश्वकपको लिग चरणमा भएको खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हरायो । यी दुईबीच भएका पछिल्ला ५ खेलमा भारतले ३ खेल जित्दा २ खेल गुमाएको छ ।

प्लेयर टु वाच
भारत

जारी प्रतियोगितामा भारतका लागि जुनै पनि खेलाडीले जितका लागि योगदान दिइरहेका छन् । जस्तो अवस्थामा पनि टोलीलाई खेलमा फर्काउन सक्षम खेलाडी उ सँग छन् । यद्यपी विष्फोटक पाली खेलिरहेका विराट कोहली भारतका हेर्न लायक खेलाडी हुन् । यस विश्वकपमा उनले १० इनिङस् खेल्दा सर्वाधिक धेरै ७११ रन बनाइसकेका छन् ।

जसमा ५ अर्धशतक र ३ शतक समावेश छ । विराटसँगै ब्याटिङमा कप्तान रोहित शर्मा, श्रेयेस अय्यर, केएल राहुल, शुभमन गिलको प्रदर्शन महत्वपूर्ण हुनेछ । बलिङमा मोहम्मद शामी भारतका लागि मुख्य हतियार फेरि एक पटक साबित हुन सक्छन् । सेमिफाइनलमा न्युजिल्याण्डविरुद्ध शान्दार जित निकाल्ने क्रममा शामी एक्लैले ७ विकेट लिएका थिए । उनले यस विश्वकपमा ६ खेल खेल्दा २१० रन खर्चिएर सर्वाधिक २३ विकेट लिएका छन् । त्यस्तै जसप्रित बुमराह, रवीन्द्र जडेजा, कुलदीप यादव, मोहम्मद सिराज बलिङमा प्रभाव पार्ने खेलाडी हुन् ।

अष्ट्रेलिया
ब्याटिङमा अष्ट्रेलियाका लागि भरपर्दा खेलाडी हुन्, डेबिड वार्नर । जारी प्रतियोगितामा १० खेलबाट वार्नरले ५२८ रन बनाएका छन् । उनीसँगै मिचेल मार्स र ग्लेन म्याक्सवेल पनि भरपर्दा ब्याटर अष्ट्रेलियाका लागि निर्णायक पाली खेल्न सक्ने खेलाडी हुन् । लिग चरणबाट सेमिफाइनल पुग्न निर्णायक जस्तै बनेको खेलमा म्याक्सवेल एक्लैले टोलीलाई जित दिलाए । छैटौं नम्बरमा ब्याटिङमा आएका उनले २०१ रनको कीर्तिमानी पाली खेलेका थिए । बलिङमा एडम जाम्पा अष्ट्रेलियाका प्रमुख हतियार हुन । १० इनिङस्मा २२ विकेट लिँदै उनी सर्वाधिक विकेट लिने खेलको सुचीमा दोस्रोमा छन् । उनीसँगै जोस हेजलवुड, मिचेल स्टार्क र कप्तान प्याट कमिन्स पनि बलिङमा प्रभाव पार्न सक्ने खेलाडी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्