चारदेशीय महिला टी–२० सिरिजमा नेपाल तेस्रो, जापान ४५ रनले पराजित

३ मंसिर २०८० काठमाडौं । चार देश सम्मिलित महिला ट्वेन्टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले तेस्रो स्थान हासिल गरेको छ ।
तेस्रो स्थानका लागि आज बिहान सम्पन्न प्लेअफमा नेपालले जापानलाई ४५ रनले हरायो । १ सय १६ रनको लक्ष्यसहित मैदान ओर्लेको जापानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७० रनमात्र बनाउन सक्यो ।
जापानकी अकारी निशमुराले २९, हिनाशे गोटोले १६ तथा अहिल्या चाण्डेलले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंककको रन जोड्न सकेनन् ।
बलिङमा नेपालकी संगीता राई, इन्दु बर्मा, सिता राना मगर, खुशी डंगोल र सोनी पाख्रिनले एक(एक विकेट लिइन् । यसअघि हङकङ क्रिकेट क्लबको मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ५ विकेटको नोक्सानीमा १ सय १५ रन बनाएको थियो ।
नेपालकी पूजा महतोले सर्वाधिक ४३ रन बनाइन् । त्यस्तै रोमा थापाले २२, रुबिना क्षेत्रीले २१, कप्तान इन्दु बर्माले १२ तथा सिता राना मगरले ५ रन जोड्दा काजल श्रेष्ठ ३ र अस्मिना बज्राचार्य २ रनमा अविजित रहे ।
बलिङमा जापानकी अहिल्या चाण्डेल, इरिका टोगुची क्विन र आयुमी फुजीकावाले समान एक विकेट लिए ।
प्रतियोगिताको उपाधिका लागि हङकङ र ताञ्जानियाबीच प्रतिस्पर्धा भइरहेको छ ।
प्रतिक्रिया