खेलकूद

महिला ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा नेपालको सान्त्वना जित

हिमालय टिभी
२०८० मंसिर २ गते १३:०६
महिला ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा नेपालको सान्त्वना जित

२ मंसिर २०८० काठमाडौं । हङकङमा जारी चार देश सम्मिलित महिला ट्वेन्टी-ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले सान्त्वना जित निकालेको छ ।

समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज विहान जापानलाई ६७ रनले हरायो । १ सय १४ रनको लक्ष्य पछ्याएको जापान निर्धारित २० ओभरमा ४६ रनमा अलआउट भयो ।

उसका लागि मेग ओगावाले १७ र शेका सुमीले १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङमा नेपालकी संगीता राईले ५ तथा अस्मिना कर्माचार्य र पूजा महतोले २–२ विकेट लिए ।

यसअघि हङकङ क्रिकेट क्लबको मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै १ सय १३ रन बनाएको थियो । नेपालकी रुबिना क्षेत्रीले ३८ तथा कप्तान इन्दु बर्माले २७ रन बनाए ।

त्यस्तै काजल श्रेष्ठ १५ रनमा अविजित रहँदा पूजा महतोले १३ तथा सिता राना मगरले ९ रन जोडिन् । बलिङमा जापानकी इलिना कुसुडा नाइरनले २ विकेट लिइन् । जितसँगै तीन खेलबाट एक जितसहित नेपाल तेस्रो स्थानमा रहँदा जितविहिन जापान तालिकाको पुछारमा रह्यो ।

अब नेपाल र जापानले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपाल पहिलो खेलमा ताञ्जानियासँग २७ रनले र दोस्रो खेलमा हङकङसँग ९ विकेटले पराजित भएको थियो ।

शीर्ष स्थानको हङकङ र दोस्रो स्थानको ताञ्जानियाबीच समूह विजेताका लागि प्रतिस्पर्धा भइरहेको छ । दुबै टोलीबीच उपाधि भिडन्त पक्का भैसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्