खेलकूद

महिला क्रिकेटमा किन कमजोर भयो नेपाल ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० मंसिर २ गते ७:१६
महिला क्रिकेटमा किन कमजोर भयो नेपाल ? (भिडियो रिपोर्टसहित)

२ मंसिर २०८० काठमाडौं । चार देश सम्मिलित महिला ट्वेन्टी-ट्वेन्टी सिरिजको उपाधि जित्ने लक्ष्यसहित हङकङ पुगेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले सुरुवाती दुवै खेलमा खराब नतिजा निकाल्यो ।

पहिलो खेलमा तान्जानिया र दोस्रो खेलमा हङकङसँग पराजित हुँदै नेपाल एक खेल अगाडि नै फाइनल पुग्नबाट बञ्चित भयो । उपाधि जित्ने लक्ष्यसहित हङपुगेको नेपाली टोली जितिवहीन हुने ठाउँमा पुग्नुलाई महिला क्रिकेटलाई गरिएको बेवास्ता नतिजाका रुपमा देखा परेको टिप्पणी हुन थालेको छ ।

हङकङमा जारी चार देश सम्मिलित महिला ट्वेन्टी-ट्वेन्टी सिरिजको पहिलो खेलमा नेपाल तान्जानियासँग २७ रन र दोस्रो खेलमा घरेलु टोलीसँग ९ विकेटको लज्जास्पद हार व्यहोर्दै अन्तिम खेल अघिनै फाइनल पुग्नबाट बञ्चित भयो ।

युवा खेलाडीलाई समेट्दै बनाइएको टोलीमा कप्तान, उपकप्तान र प्रशिक्षक समेत हेरफेर गरिएको थियो । परिक्षणका रुपमा यो टोलीलाई सिरिजमा पठाइए पनि उपाधि जित्ने आशा थियो । तर जसरी सुरुवाती २ खेलमा नेपालको प्रदर्शन फितलो बन्यो यसले महिला क्रिकेट विकासमा परिवर्तनका लागि दीर्घकालिन योजना ल्याउनु पर्ने देखिएको छ ।

कुनै एक समय नेपाली क्रिकेटमा पुरुषको तुलनामा महिला टोलीको स्तर निक्कै माथि थियो । एशियाली स्तरको प्रतियोगितामा नेपाल एशोसियट मुलुकमध्ये उत्कृष्ट मानिन्थ्यो । तर घरेलु क्रिकेटमा महिला टोलीलाई निरन्तर उपेक्षामा पारिँदा अन्तर्राष्ट्रिय खेलमा सफलताको आशा गर्नु व्यर्थ देखिएको छ ।

इन्दु बर्माको कप्तानीमा अधिकांश युवा खेलाडी सम्मिलित टोलीले मनोज कटवालको प्रशिक्षणमा १ साता मात्र प्रशिक्षण गरेको थियो । यो छोटो समयमा खेलाडी र प्रशिक्षकले एकअर्कालाई बुझ्ने मौका समेत थिएन । पुरुष टोलीमा स्थायी प्रशिक्षक नियुक्त गरि लगातार प्रशिक्षणमा राखेको क्यानले महिला टोलीलाई त्यहि अनुरुप तयार पार्न सकेको छैन् । त्यसैले अब महिला टोलीबाट पनि नतिजाको अपेक्षा गर्ने हो भने क्यानमा महिला क्रिकेटका लागि छुट्टै इकाइ आवश्यक रहेको विज्ञको बुझाइ छ ।

सिरिजमा तान्जानियाविरुद्ध सिता रानामगर र हङकङविरुद्ध रुविना क्षेत्री बाहेक अन्य खेलाडीको प्रदर्शन बिर्सन लायक रह्यो । ति दुई खेलमा नेपालले कडा चुनौती दिनु त परको कुरा पुरै ओभरसम्म पनि खेल्न सकेन ।

शुन्य घरेलु संरचना र महिलातर्फ सिमित प्रतियोगिताको भरमा खेलाडीले खेल अनुभव लिनु परेको छ । क्यानको अघिल्लो कार्यसमितिले महिला क्रिकेटका कुनै योजनानै बनाउन सकेको थिएन वा भएका योजना समेत पूर्ण रुपमा कार्यान्वयन गर्न सकेन । तर अन्तिम कार्यकाल यादगार बनाउने योजनामा रहेका अध्यक्ष चतुरबहादुर चन्द र क्रिकेटबाट संघसम्मको उडान भरेका सचिव पारस खड्काले यसतर्फ ध्यान दिन ढिलाई भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्