सांसद विकास कोषको रकम भूकम्प पीडितको राहत र पुनःस्थापनामा खर्च गर्ने सरकारको निर्णय
२७ कात्तिक २०८० काठमाडौं । सरकारले सांसद विकास कोषको रकम भूकम्प पीडितको राहत, पुनःस्थापना र अस्थायी आवास निर्माणमा खर्च गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा आज विहान बसेको मन्त्री परिषद् बैठकले सांसद विकास कोषको ८ अर्ब २५ करोड र दातृ निकायले गरेको एक अर्ब ७५ करोड सहयोग समेत गरेर १० अर्बको राहत कोष बनाउने निर्णय गरेको हो ।
बैठकले भूकम्पका कारण पूर्ण र आंशिक क्षति भएका घर परिवारलाई अस्थायी आवास निर्माणका लागि प्रतिघर ५० हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को निर्णयबारे कुराकानी गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला प्रत्यक्ष जोडिनु भएको छ ।
बैठकले पूर्ण र आंशिक क्षति भएका घरपरिवारलाई प्रति घर ५० हजार रुपैयाँ दिने निर्णय भएको भौतिक योजना तथा निर्माण मन्त्री प्रकाश ज्वालाले जानकारी दिनुभयो ।
अस्थायी आवास व्यवस्थापनका लागि पूर्ण र आंशिक क्षति भएका बस्न योग्य नभएका घरहरूको लागि ५० हजारका दरले रकम उपलब्ध गराउने निर्णय भएको मन्त्री ज्वालाले स्पष्ट गर्नुभयो । त्यसैगरी आवास बिमाका सम्बन्धमा अध्ययन गरेर प्रतिवेदन बुझाउन मुख्यसचिवलाई जिम्मेवारी प्रदान गरेको छ ।
कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिमसहितका जिल्लामा ६२ हजारभन्दा बढी घरमा क्षति भएको छ । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिमा १५४ जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया