Main News

५४ विमानस्थलमध्ये २० वटा बन्द, १८ वटा घाटामा (भिडियो रिपोर्टसहित)

२०८० कार्तिक २४ गते २०:४८
५४ विमानस्थलमध्ये २० वटा बन्द, १८ वटा घाटामा (भिडियो रिपोर्टसहित)

२४ कात्तिक २०८० काठमाडौं । नेपालमा कति विमानस्थल आवश्यक छ रु यातायातको महँगो साधन विमान कति नागरिकका लागि पहुँचमा छ ? यसको विस्तृत अध्ययनविना नै विमानस्थल थप्ने लहडमा सरकार छ ।

अहिलेसम्म नेपालमा विमानस्थलको संख्या ५४ वटा पुगिसकेको छ । तिमध्ये २० वटा बन्द छन् भने १८ विमानस्थल घाटामा छन् । सस्तो लोकप्रियताका लागि विमानस्थलको संख्या बढाउने होडबाजी किन ? यसले मुलुकको आर्थिक भार थप बढाएको छ ।

दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल अलपत्र छन् । सरकारले थप एउटा अन्तर्राष्ट्रिय विमानस्थल निजगढमा बनाउने पुनः चर्चा चलाएको छ । त्यतिमात्र कहाँ होर, धरानमा पनि आन्तरिक विमानस्थल बनाउने घोषणा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गर्नुभयो । के अरु विमानस्थल आवश्यक छ र ? हामी नेपालमा विमानस्थलको वर्तमान अवस्थाबारे जानकारी दिंदैछौं ।

नेपालमा कुल विमानस्थलः ५४
अन्तर्राष्ट्रिय विमानस्थलः ३
आन्तरिक विमानस्थलः ५१
सञ्चालनमा रहेका विमानस्थलः ३४
बन्दभएका विमानस्थलको संख्याः २०
निर्माणाधीन विमानस्थलको संख्याः २

तथ्यांक अनुसार करोडौं लगानीमा बनेका दर्जन बढी विमानस्थल बन्द अवस्थामा हुँदा राज्यलाई सोझै नोक्सानी भएको छ भने सञ्चालनमा रहेका विमानस्थल पनि घाटामा छन् ।

घाटामा विमानस्थल सञ्चालन गर्दा राज्यलाई आर्थिक भार थपिरहेको छ । अन्तर्राष्ट्रिय विमानस्थलतर्फ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मात्रै पूर्ण सञ्चालन र नाफामा छ भने दुई अन्तर्राष्ट्रिय विमानस्थल पोखरा र भैरहवाले आन्तरिक उडानबाट मुश्किलले सञ्चालन खर्च उठाउन सकेका छन् ।

सञ्चालनमा रहेका विमानस्थलः ३४
नाफामा सञ्चालन रहेका विमानस्थलः १६
घाटामा सञ्चालनमा रहेका विमानस्थलः १८
पूँजीगत सम्पति नाफामा रहेका विमानस्थलः १

पहाडी र हिमाली क्षेत्रमा निर्माण गरिएका अधिकांश विमानस्थल घाटामा सञ्चालनमा रहेको प्राधिकरणको भनाइ छ । तराईका ६ विमानस्थलले सञ्चालन खर्च उठाउन सकेका छन् भने हिमाली र पहाडी क्षेत्रका चार आन्तरिक विमास्थलले मात्रै सञ्चालन खर्च उठाउन सकेको अवस्था छ ।

मुस्ताङको जोमसोम, सोलुखुम्बुको लुक्ला र फाप्लु विमानस्थल, हुम्लाको सिमिकोट विमानस्थलले मात्रै सञ्चालन नाफा गर्न सकेका छन् । पहाडी र हिमाली क्षेत्रमा सञ्चालन नाफामा रहेका चार वटै आन्तरिक विमानस्थल पर्यटकीय क्षेत्रमा पर्ने विमानस्थल भएको प्राधिकरणको भनाइ छ ।

सञ्चालनमा रहेका विमानस्थलमध्ये त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मात्रै एउटा यस्तो विमानस्थल हो , जस्ले सञ्चालन नाफामा मात्रै नभएर पूजिगत सम्पत्ति पनि नाफामा रहेको प्राधिकरणले जनाएको छ । बार्षिक ९० लाख यात्रु ओहोर दोहोर गर्ने क्षमताको यो विमानस्थल हाल पूर्ण क्षमतामा सञ्चालनमा रहेको छ । प्रस्तुत तथ्यांकलाई आधार बनाउने हो भने अहिले नयाँ विमानस्थलको निर्माण गर्ने भन्दा पनि बन्द भएका विमानस्थललाई पुनः सञ्चालन गर्ने र घाटामा सञ्चालित विमानस्थललाई नाफामा कसरी लैजाने भन्ने बिषयमा सरकारले योजना बनाएर अघि बढ्नु आवश्यक देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *