Main News

धरानमा विमानस्थल: पर्यटनमन्त्री आवश्यकता र औचित्य पुष्टिभन्दा स्टन्टमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० कार्तिक २४ गते २०:४४
धरानमा विमानस्थल: पर्यटनमन्त्री आवश्यकता र औचित्य पुष्टिभन्दा स्टन्टमा (भिडियो रिपोर्टसहित)

२४ कात्तिक २०८० काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीमा सस्तो लोकप्रिताको भोक अझै मेटिएको छैन । मन्त्री नियुक्त भएदेखि नै स्टन्टबाजी गर्दै आएका किराँती कहिले पर्यटन बोर्डसँग जोरी खोज्दै हिँड्नुहुन्छ त कहिले नागरिक उड्डयन प्राधिकरणसँग ।

खासगरी उड्ययनको क्षेत्रमा त मन्त्री किराँतीले आवश्यकता र औचित्यभन्दा माथि उठेर स्टन्टबाजी गर्दै आइरहनु भएको छ, जसले उड्ययन क्षेत्र थप तहसनहस हुने जोखिम बढेको छ ।

बुधबार साँझ साढे ७ बजे धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सामाजिक सञ्जालबाट एउटा धम्की दिनुभयो, ‘विराटनगरमा एयरपोर्ट छ भन्दैमा धरानमा नचाहिने भन्ने हुँदैन । धरानमा पनि बनाउनु पर्छ है सरकार, !!! नत्र ?’

अनि भोलिपल्ट बिहानै उठेर फेसबुक खोल्दा धराने मेयरको धम्की देखेपछि पर्यटनमन्त्री सुदन किराँतीले सामाजिक सञ्जालमै आश्वासनको एउटा पोको फ्याँकिदिनुभयो, धरानमा विमानस्थल निर्माण अध्ययन समिति तत्काल गठन गर्न नागरिक उड्डयन महानिर्देशकलाई निर्देशन गरिएको छ ।

निर्देशन र स्पष्टीकरणको छबि बनाएका स्टन्टमन्त्री किराँतीलाई धरानमा विमानस्थल आवश्यक हो कि होइन, त्यहाँ विमानस्थल बनाउन सरकार सक्षम छ कि छैन, स्रोत साधनले भ्याउँछ कि भ्याँदैन, उडाउनलाई जहाज छन् कि छैनन्, केही प्रवाह छैन । बस्, उहाँले निर्देशन दिनुभयो, तत्काल अध्ययन समिति गठन गर्नू ।

सम्भाव्यता अध्ययनका लागि समेत पूर्वसम्भाव्यता अध्ययन हुनुपर्छ र त्यसका लागि पनि सम्भावनाको कुनै संकेत हुनुपर्छ । धरानबाट ४१ किलोमिटरको दूरीमा रहेको विराटनगरमा रहेको विमानस्थल पूर्ण क्षमतामा चल्न नसकिरहेका बेला धरानका मेयर हर्क साम्पाङको लहैलहैमा लागेर किराँतीले लिएको पछिल्लो निर्णय अपरिपक्वताको अर्को उदाहरण बनेको छ ।

सरकारले अर्बौँ लगानी गरेर बनाएका देशभरका कयौँ विमानस्थल बन्द र कयौँमा हप्तामा धौ धौ एक दिन उडान भइरहेको तथ्य घाम जत्तिकै छर्लंग छ । र विमानस्थल बन्द हुने तीन कारणमा पहिलो कारण सडक यातायातको सहज पहुँछ, दोस्रोमा पर्याप्त जहाजको अभाव र तेस्रोमा महंगो टिकट दर देखिएका छन् । पर्यटकीय क्षेत्रलाई लक्ष्य गरेर बनाइएका दुईवटा अन्तर्राष्ट्रिय विमानस्थलसमेत ठण्डाराम भइरहेको र तीनले दिनप्रतिदिन राज्यको ढुकुटी रित्याइरहेको देखिरहेका मन्त्री किराँतीलाई साम्पाङको एउटा ज्ञापन पत्र र बाँकी फेसबुक स्टाटसहरुले किन यति उद्वेलित पारे ? कुरा अचम्मको छ ।

नेपाल एयरलाइन्स नामक घाटामा रहेको सरकारी कम्पनीका लागि १० वटा जहाज किन्ने भनेर बारम्बार भाषण गर्दै आएका किराँती तीनका लागि आवश्यक स्रोत साधनको तयारीमा देखिनुहुन्न । ४८ अर्ब ऋणले थला परेको नेपाल एयरलाइन्स आफ्नो सारा सम्पत्ति बेच्दासमेत ऋण चुक्ता गर्न सक्ने अवस्थामा छैन ।

विभिन्न उडानका क्रममा खराबी आएपछि जहाजहरु महिनौँसम्म उड्न नपाएर थन्किने गरेको तितो विगत छ । दुर्गमका विमानस्थलहरु उडान नपाएर घाटामा छन्, कर्मचारीको खर्च धान्न कठिन भइसकेको छ । निजी कम्पनीहरु निरन्तरको दुर्घटनाले जहाजकै अभावमा छन् । अनि मन्त्री चाँहि फेसबुकको रमाइलोमा विमानस्थल निर्माण र सञ्चालन जस्तो कुरामा आदेश र निर्देशनमा केन्द्रित हुनुहुन्छ ।

धरान होस् वा अरु कुनै सहर वा गाउँ नै किन नहोस् ? त्यहाँ विमानस्थलको आवश्यकता, दैनिक उडान धान्न सक्ने यात्रु, विमानस्थल सञ्चालनका लागि आवश्यक साधन स्रोतको अध्ययन चाँहि गर्नुपर्दैन रु मन्त्री ज्यूको यो मजाकले मन्त्रालय त गतिहीन बनिसकेको छ नै उड्ययन क्षेत्रसमेत धरापमा पर्दैन ? बरु निरन्तर भइरहेका हवाई दुर्घटना न्यूनीकरण, युरोपेली युनियनको कालोसूचीबाट हटाउन भइरहेका प्रयास चाँहि के के छन् मन्त्रीज्यू ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *