उपरथी ताराध्वज पाण्डेले दिए पदबाट राजीनामा
२४ कात्तिक २०८० काठमाडौं । प्रधानसेनापतिको रोलक्रममा रहेका उपरथी ताराध्वज पाण्डेले पदबाट राजीनामा दिनुभएको छ ।
जन्ममितिमा कैफियत देखिएपछि छानबिनमा तानिएका उपरथी पाण्डेले आजै प्रधानसेनापति प्रभुराम शर्मासमक्ष पदबाट राजीनामा दिएको सैन्यस्रोतले जनाएको छ ।
यसअघि परीक्षा नियन्त्रण कार्यालयको ढड्डामै केरमेट गरेर दुई वर्ष उमेर घटाएकोभन्दै पाण्डेविरुद्ध छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको थियो ।
आयोगले पाण्डेको जन्ममितिबारे छानबिनका लागि रक्षामन्त्रालय हुँदै सैनिक मुख्यालयमा छानबिनका लागि पत्रचार गरेको थियो । त्यसपछि मुख्यालयले दोस्रो वरियतामा रहका बलाध्यक्ष रथी सीताराम खड्काको नेतृत्वमा छानिबन समिति गठन गरेको थियो ।
खड्का नेतृत्वको समितिमा सेनाको कानूनी निकाय प्राड विभागका प्रमुख प्राविधिक उपरथी रत्नप्रकाश थापा र अर्का एक सदस्य रहेका थिए । छानबिनका क्रममा पाण्डेको जन्ममितिमा कैफियत भेटिएकोबारे प्रधानसेनापति शर्मासमक्ष जानकारी गराएको थियो ।
कैफियत भेटिएपछि पाण्डेलाई पदबाट राजीनामा दिन दबाब बढेको थियो । परीक्षा नियन्त्रण कार्यालयमा रहेको पाण्डेको शैक्षिक प्रमाणपत्रमा सुरुमा २०२१ साल माघ १२ गतेको जन्ममितिलाई केरेर २०२३ मंसिर २३ गतेको मिति राखिएको थियो ।
पुरानै मितिअनुसार पाण्डेले ५७ वर्षमा अवकाश पाउनुपर्ने थियो अर्थात १ वर्ष ९ महिनाअघि नै पाण्डे ५७ वर्ष पुग्नुहुन्थ्यो । सैनिक ऐन अनुसार उपरथीको अवकाश ५७ वर्षमा हुने उल्लेख छ । पाण्डेलाई रथी बढुवामा सिफारिस गर्न जंगीअड्डाले २९ असोजमा सूचना जारी गरेको थियो ।
सूचना जारी भएको ७ दिनपछि बढुवा सिफारिस सम्बन्धी पत्र रक्षा मन्त्रालय हुँदै मन्त्रिपरिषद्सम्म पुगेर निर्णय हुनुपर्ने थियो ।
प्रतिक्रिया