Main News

मुगु सामूहिक हत्यामा संलग्न दुई जना पक्राउ

हिमालय टिभी
२०८० कार्तिक २४ गते १३:०५
मुगु सामूहिक हत्यामा संलग्न दुई जना पक्राउ

२४ कात्तिक २०८० मुगु । मुगुमा एकै परिवारका चारजनाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उनीहरुलाई आजै सार्वजनिक गर्ने प्रहरीको तयारी रहेको छ ।

छायानाथ रारा नगरपालिका–६ मुन्दुमा एकै परिवारका चार जनाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले गाउँकै गोपालबहादुर बोहरा र गोरखबहादुर शाहीलाई पक्राउ गरेको हो ।

गत कात्तिक १० गते २८ वर्षीया श्रीदेवी बोहरा, उनका ११ बर्षीय छोरा मनोज, सात वर्षकी छोरी अप्सरा र ८ महिने अर्का छोरा मृत भेटिएका थिए । उनीहरुको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान गरेको थियो । क्लू समेत नभेटेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीको सहयोग लिइएको थियो ।

घटनाको जानकारी सार्वजनिक भए लगतै जिल्ला प्रहरी कार्यालय मुगुको टोलीले अनुसन्धान गरेको थियो । अनुसन्धानलाई थप सहयोग गर्न सुर्खेतबाट कुकुरसहित प्रहरीको टोली मुन्दु पुगेको थियो । त्यस अनुसन्धानबाट पनि क्लू नभेटेपछि सीआइबीले सहयोग गरेको थियो ।

प्रहरीका अनुसार लुट्ने मनशायले घटना भएको हो । गोपाल र गोरख दुवै मृतकका आफन्त र छिमेकी हुन् । गोरख भने बाँकेको कोहलपुरमा बस्दै आएका थिए । अनुसन्धानका क्रममा गोरख दसैँको दुई दिनअघि गाउँ गएपनि गाउँलेले चाल पाएका थिएनन् ।

उनी गोपालको गोठमा लुकेर बसेको अनुसन्धानका क्रममा खुलेको छ । दसैँको भोलिपल्ट कात्तिक ८ गते राति साढे ८ बजे दुवैजना श्रीदेवीको घरमा छिरेको र सबैको हत्या गरेर लुटपाट गरेको प्रहरीले दाबी गरेको छ ।

अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार गोरख घटना भएकै राति सुर्खेत भागेका थिए । गोपाल भने गाउँमै बसेका थिए । गोरख श्रीदेवीका माइतीतर्फका आफन्त हुन् भने गोपाल श्रीमानतर्फका आफन्त रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *