खेलकूद

ग्लेन म्याक्सवेलको नाटकीय तथा जादुमयी दोहोरो शतक

हिमालय टिभी
२०८० कार्तिक २२ गते १७:३८
ग्लेन म्याक्सवेलको नाटकीय तथा जादुमयी दोहोरो शतक

२२ कात्तिक २०८० काठमाडौं । भारतमा जारी आईसिसी विश्वकप क्रिकेटमा अफगानिस्तानसँग हारको संघारमा रहेको अष्ट्रेलियाले नाटकीय जित निकाल्दै सेमिफाइनलमा स्थान बनायो ।

यो जितमा अष्ट्रेलियाको जति चर्चा छ, त्यो भन्दा धेरै यो जितका नायक ग्लेन म्याक्सवेलको विश्वभर चर्चाको शिखरमा छन् । दोहोरो शतक बनाउँदै अष्ट्रेलियाको संकटमोचक बनेका म्याक्सवेलको यो पाली विश्व क्रिकेटमा देखिने दुर्लभ जादुमयी खेल बन्यो ।

मुम्बईको वान्खडे रंगशालामा टस जितेर पहिले ब्याटिङ गर्दै अफगानिस्तानले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २९१ रन बनाएको थियो । प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको अष्ट्रेलियालाई अफगानिस्तानले सुरुदेखि नै दबाबमा राख्यो । अष्ट्रेलियाले एकपछि अर्को विकेट गुमाउँदा १९ औं ओभरको तेस्रो बलमा सातौं विकेट गुमायो, स्कोर बोर्डमा ९१ रनमात्र थियो । २९२ रनको लक्ष्य भेट्टाउन अष्ट्रेलियालाई २०१ रन चाहिँदा हातमा ३ विकेट बाँकी थियो ।

यस्तो अवस्थामा अष्ट्रेलियाले जित्ने सायदै कसैले सोचेका थिए । तर क्रिकेटमा जे पनि सम्भव छ भन्ने भनाई यहाँ चरितार्थ भयो । विश्व क्रिकेटको दर्शनीय खेलको अध्याय यहिँबाट सुरु भयो । चोटग्रस्त म्याक्सवेल अष्ट्रेलियाका लागि संकटमोचक बनेर क्रिजमा उभिए । उनलाई साथ दिँदै थिए, कप्तान प्याट कमिन्सले ।

२ पटक जीवनदान पाएका म्याक्सवेललाई रिभ्युले पनि साथ दिए । ७६ बलमा शतक पुरा गरेपछि ढाड र खुट्टाको समस्या देखिएपछि मैदानमै उनको उपचार समेत भयो । ४७ औं ओभरको पहिलो बलमा रन लिन नसकेपनि त्यसपछिका ४ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै उनले २०० रनमात्र कटाएनन् टोलीलाई १९ बल अगावै ३ विकेटको अविश्वसनीय जित समेत दिलाए ।

१ सय २८ बलको सामना गरेका उनले २१ चौका र १० छक्कासहित नटआउट २०१ रन बनाए । प्याट कमिन्सले नटआउट १२ रन जोडे ।

यी २ बीच आठौं विकेटका लागि भएको २०२ रनको साझेदारी गरेका थिए । एक दिवसिय क्रिकेटका आठौं विकेटका लागि भएको सर्वाधिक उच्च साझेदारी हो । ओपनर बाहेकका ब्याटर दोहोरो शतक बनाउने कीर्तिमान म्याक्सवेलको नाममा रह्यो । एक दिवसीयमा उनी सहित ११ खेलाडीले दोहोरो शतक बनाएका छन् । विश्वकपमा यो उपलब्धि हासिल गर्ने उनी तेस्रो खेलाडी हुन् ।

यसअघि, न्यजिल्याण्डका मार्टिन गुप्टिल र वेस्ट इण्डिजका क्रिस गेलले दोहोरो अर्धशतक बनाएका छन् । सर्वाधिक छिटो बनेको दोहोरो शतकमा यो दोस्रो हो । म्याक्सवेलले १२८ बलमा २०० रन कटाउँदा यसअघि भारतका इशान किसनले १२६ बलमा यो सफलता पाएका थिए । म्याक्सवेल अष्ट्रेलियाका एकै खेलमा सर्वाधिक धेरै र दोहोरो शतक बनाउने खेलाडी समेत बने । यो दोहोरो शतक जवाफि ब्याटिङमा आएका खेलाडीले बनाएको पहिलो हो ।

म्यासवेलको धैर्यता, लगाव, देश प्रेम, जितको इच्छा शक्ति, क्षमता उदाहरणीय छ । यो सफलताले उनको टोलीलाईमात्र होइन अन्य राष्ट्रका टोलीमा पनि हिम्मत नहार्न प्रेरणाको स्रोत बनिरहने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्