पोखराको लेकसाइड क्षेत्रमा चौबीसै घण्टा व्यवसाय खोल्न दिन आदेश

२२ कात्तिक २०८० कास्की । उच्च अदालत पोखराले लेकसाइड क्षेत्रका व्यापार व्यवसाय २४ सै घन्टा खोल्न दिन आदेश दिएको छ ।
मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजालासले अन्तिम निर्णय नहुन्जेलसम्मका लागि कानूनविपरीतको कार्य भएको अवस्थामा बाहेक निवेदकलाई कानूनबमोजिम व्यापार व्यवसाय गर्न नरोक्न आदेश जारी गरेको हो ।
यस्तै अदालतले १५ दिनभित्र विपक्षीहरुका हकमा उच्च सरकारी वकिल कार्यालय पोखरा मार्फत, लिखित जवाफ पेश गर्न भनेको छ ।
गृह प्रशासन सुधार कार्ययोजना २०७४ को बुँदा नम्बर २५ मा ठमेल, दरवारमार्ग, पोखराको लेक साइड जस्ता पर्यटकको आवागमन बढी हुने क्षेत्रहरूमा २४ घण्टा बजार खुला रहने गरी आवश्यक सुरक्षाको प्रबन्ध गरिने छ भन्ने व्यवस्था भएको भनी देवीकुमारी बरालले अन्तरिम आदेश समेतको माग गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीलाई विपक्षी बनाएर निवेदन दिनुभएको थियो ।
निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता मोहननाथ कोइराला, अधिवक्तात्रय शिवराज वाग्ले, दीपक पराजुली र दिनेश आचार्यले गरेका थिए ।
प्रतिक्रिया