माधवकुमार नेपालको विदेश भ्रमण मोह : नेपाल ‘ट्रान्जिट’ मात्रै ! (भिडियो रिपोर्टसहित)
२१ कात्तिक २०८० काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई विदेश भ्रमणको मोह कति हो कति ? उहाँ वर्षमा १३ पटकसम्म विदेश यात्रामा हराउनुहुन्छ । उहाँलाई स्वदेशमा बस्नेभन्दा पनि विदेशमा घुम्न रमाइलो लाग्दो रहेछ ।
एमालेसँग चोइटिएर नयाँ दल गठन गर्नुभएका नेपालको पार्टीमा अब नेता–कार्यकर्ताको शिला खोज्नुपर्ने अवस्था छ, यता ध्यान नदिने अध्यक्ष नेपाल त विदेश घुमाइमै मस्त हुनुहुन्छ । चाहे मुलुक शोकमा होस् वा भूकम्पले नागरिक पीडित हुन् उहाँलाई कुनै चिन्तै छैन, बरु चिन्ता त उहाँलाई यसपटक विदेश घुम्न पाइने हो कि होइन भन्नेमा छ ।
हिजो–आज एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई खुब व्यंग्य गरिन्छ । कुनै महिना विदेश जाने निमन्त्रण नभए उहाँलाई निद्रै लाग्दैन रे । यतिसम्म भनिन्छ कि, चीनको खासा होस् वा भारतको रक्सौल नै किन नहोस् त्यहाँ पुगेरै भएपनि माधवकुमार नेपालले विदेशको रहर पुरा गर्नुहुन्छ भन्दै व्यंग्य गरिन्छ । साँचै माधव नेपाल पार्टीको अध्यक्ष होइन, विदेश विभाग प्रमुख मात्र जस्तो बन्नुभएको छ । उहाँले २०७८ सालमा १३ वटा देशको भ्रमण गर्नुभयो ।
त्यसपछि २०७९ सालमा उहाँले ९ वटा देशको भ्रमण गर्दा बैशाखदेखि यता कात्तिकमध्यसम्ममा ६ वटा विदेशयात्रा भ्याइसक्नुभएको छ । मंगलबारमात्र उहाँ चीनको यात्रामा जानुभएको छ । मुलुकको एउटा भाग भूकम्पले थिलथिलो बनेको छ, माधवकुमारलाई के मतलव उहाँलाई त विदेश शयर गर्नुजो छ । त्यतिमात्र होइन, उहाँ पूर्वप्रधानमन्त्री पनि हो । उहाँले देशैको वेइज्जत हुने गरी विदेश यात्रा गर्ने गर्नुभएको छ । विदेशमा उहाँका कार्यक्रमहरु यस्ता खालका हुन्छन् ।
–सीपीसीको अन्तर्राष्ट्रिय विभागको कार्यक्रम
–कम्युनिष्ट पार्टीबारेको एक प्रवचन कार्यक्रममा सहभागी
–विदेशमा रहेका नेपालीले खोलेका संस्थाका कार्यक्रम
–कमजोर हैसियत भएका कार्यक्रममा सहभागी
चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीको अन्तर्राष्ट्रिय विभागले दक्षिण एसियाली राजनीतिक दललाई निमन्त्रणा गरेर कार्यक्रम गर्दैछ । त्यसैमा भागलिन पूर्वप्रधानमन्त्री हैसियतका माधवकुमार नेपाल चीन जानुभएको हो । उहाँलाई कार्यक्रमको हैसियतको मतलबै छैन । चीन घुम्न पाउनुपर्यो । उहाँ एक्लै हुनुहुन्न, उहाँसँग त कृषिमन्त्रीसमेत रहेका उपाध्यक्ष बेदुराम भुसालसहित १५ सदस्यीय टोली पनि छन् ।
साउन ८ गते इन्डोनेसिया जानुभएका नेपालले त्यहाँ विश्व परिवेशमा कम्युनिस्ट सिद्धान्तको अवस्था, देश विकासमा त्यसको प्रभाव र योगदान’ विषयमा प्रवचन दिनुबाहेक कुनै उपलब्धि थिएन । इन्डोनेसिया जाँदा नेपालले मलेसिया र सिंगापुरको शयर गर्न भ्याउनुभयो । नेपाल असार १८ गते श्रीलंका जानुभयो । श्रीलंकाबाट २१ असारमा मात्रै स्वदेश फर्किनुभएको थियो ।
नेपालले २०७८ भदौ २ गते आफ्नै नेतृत्वमा समाजवादी पार्टीको घोषणा गर्नुभएको थियो । तर, गठबन्धन बनाएर कहिले शेरबहादुर देउवा त कहिले प्रचण्ड नेतृत्वको सरकारमा जाने, पार्टी जोगाउन केही सांसदलाई मन्त्री बनाउनेबाहेक पार्टी फुटाउनुको औचित्य नेपालले पुष्टि गर्न सक्नुभएको छैन । तर, नेपालले विदेशी भूमिमा पुगेर कम्युनिस्ट पार्टीको इतिहास र भूमिकाबारे प्रवचन दिइरहँदा उहाँकै पार्टीमा भने निरन्तर क्षयीकरण भइरहेको छ । प्रवचनकै नाममा विदेश जान पाएकामा उहाँ निकै खुशी हुनुहुन्छ ।
नेपालको विदेश भ्रमण सिलसिला कति सम्म छ भने ललिता निवास जग्गा प्रकरणमा सर्वोच्च अदालतले छानबिन गर्नु भन्ने आदेश दिएको भोलिपल्टै अर्थात् साउन २२ गते स्विट्जरल्याण्ड जानुभयो । चर्को आलोचना भएपछि नेपालले भ्रमण छोट्याउन बाध्य हुनुभयो । त्यसो त अघिल्लो वर्ष ९ देशको भ्रमण गर्नुभएका नेपाल २०७८ मा १३ देश पुग्नुभएको थियो ।
अध्यक्ष नेपालको अत्याधिक विदेश मोहका कारण जस्तासुकै कार्यक्रममा पनि जान तयार हुनुहुन्छ । नेपालको अधिक विदेश यात्रापछि कतिपयले अध्यक्ष माधवकुमार नेपालले मुलुकलाई ट्रान्जिट मात्रै बनाएको आरोप समेत लगाएका छन् ।
प्रतिक्रिया