Main News

चिकित्सक कुटपिटको विरोध : पाटन अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० कार्तिक २१ गते २०:३२
चिकित्सक कुटपिटको विरोध : पाटन अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प (भिडियो रिपोर्टसहित)

२१ कात्तिक २०८० काठमाडौं । चिकित्सक कुटपिटको विरोधमा स्वास्थ्यकर्मीले ललितपुरस्थित पाटन अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प पारेका छन् ।

गलत औषधिका कारण बिरामीको मृत्यु भएको भन्दै आक्रोशित आफन्तले स्वास्थ्यकर्मीमाथि हातपात गरेपछि आन्दोलित आवासीय चिकित्सकले अस्पतालको सेवा ठप्प पारेका हुन् । कार्यस्थलमा काम गर्ने वातारण नभएको र हातपात गर्नेलाई पक्राउ नगरेसम्म आकस्मिक बाहेक सेवा बन्द गर्ने स्वास्थ्यकर्मीको चेतावनी छ ।

स्वास्थ्यकर्मीहरु नै काम छोडेर आन्दोलनमा उत्रिएपछि पाटन अस्पतालमा पुगेका सेवाग्राही उपचार बिनै फर्किन बाध्य भए ।

संविधानमा कुनै पनि नागरिक स्वास्थ्य उपचार पाउनबाट बञ्चित हुन नपर्ने उल्लेख छ । अनि अत्यावश्यक सेवा क्षेत्रमा बन्द, हड्ताल र सेवामा अवरोध पुर्‍याउने कुनै पनि गतिविधि गर्न पाइँदैन । तर स्वास्थ्यकर्मीहरु नै सेवा नै ठप्प पारेर आन्दोलनमा उत्रिएका छन । जुन कुरा नागरिकलाई पट्टकै मन परेको छैन ।

तर पाटन अस्पतालका स्वास्थ्यकर्मी भने आन्दोलन गर्नु आफ्नो बाध्यता भएको तर्क गर्छन् ।

उपचारमा लापरबाहीको भएको भन्दै स्वास्थ्यकर्मीमाथि आक्रमण भएको यो पहिलो घटना होइन । अनि स्वास्थ्यकर्मी सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएको पनि पहिलो घटना होइन । यसअघि पनि मणिपाल शिक्षण अस्पताल पोखरा, काठमाडौं मेडिकल कलेज, काठमाडौं, सन्चो अस्पताल हेटौंडालगायतको अस्पतालमा डाक्टर कुटिएका थिए ।

त्यसको विरोधमा अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गरिएको थियो । स्वास्थ्यकर्मीहरु सेवा नै बन्द गरेर नागरिकको स्वास्थ्य उपचार पाउने हक खोसिरहेका छन् । नागरिक पनि उपचारमा लापर्वाही भएको भन्दै कानूनी उपचार खोज्नुपर्नेमा स्वास्थ्यकर्मीमाथि नै हातपात गर्ने र अभद्र व्यवहार गर्ने गरिरहेका छन् । सरकारले यस्ता गतिविधि रोक्न बेलैमा पहल गर्नु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *