तिहारको मुखमा चिनीको हाहाकार, दुई किलो लिन दिनभर लाइन (भिडियो रिपोर्टसहित)

२१ कात्तिक २०८० काठमाडौं । सरकारी निकाय साल्ट ट्रेडिङ कर्पोरेशनले बजारमा चिनी पठाउन सुरु गरेको छ । तिहारको मुखमा चिनी हाहाकार भएपछि सरकारले बजार हस्तक्षेप गरेर खुद्रा विक्रेतामार्फत बजारमा पठाउन थालेको हो । तर अझै बजारमा चिनी सहज रुपमा उपलब्ध हुन सकेको छैन ।
दृश्यमा देखिएको यो लाइन कुनै दूर दराजमा खाद्यान्नको जोहोका लागि खाद्य संस्थानमा लागेको उपभोक्ताको लाइन होइन । यो त संघीय राजधानी काठमाडौंको कालीमाटीस्थित साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको केन्द्रीय कार्यालयमा दुई किलो चिनी खरिदका लागि लागेको उपभोक्ताको लाइन हो ।
तिहारको मुखमा घरपायक पसलमा चिनी नपाएपछि उपभोक्ताहरु टाढा टाढाबाट धाएर दुई किलो चिनी खरिद गर्न यहाँसम्म आएका हुन् । घटौं लाइनमा बसेर दुई किलो चिनी खरिद गर्दा उपभोक्ताका लागि सानो तिनो युद्ध जिते जस्तै महशुस भयो । तर उनीहरुले उपभोक्तालाई चाडपर्वमा पनि सहज रुपमा चिनी उपलब्ध गराउन नसकेको भन्दै सरकारप्रति आक्रोश पोखे ।
साल्ट ट्रेडिङले प्रतिकिलो ९७ रुपैंयामा एक परिवारलाई दुई किलोको दरले चिनी बिक्री गरिरहेको छ । बजारमा चिनी अभाव चुलिएपछि साल्ट ट्रेडिङले खुद्रा विक्रेतालाई पनि पसल दर्ता प्रमाणपत्रका आधारमा मागेको अनुपातमा १५ देखि २० बोरासम्म चिनि उपलब्ध गराउन थालेको छ । ठूला डिपार्टमेन्ट स्टोरहरुलाई भने एक दुई ट्रक नै चिनी दिन थालिएको साल्ट ट्रेड्रिङको दाबी छ ।
सोमवार र मंगलबार २१(२१ टन चिनी बजारमा पठाइएको छ । उपभोक्तालाई आफैंले ९७ रुपैयाँ प्रतिकिलोमा चिनी बेचिरहेको साल्ट ट्रेडिङले खुद्रा विक्रेताहरुलाई भने प्रतिकिलो एक सय १२ रुपैयाँ ८० पैसाको दरले चिनी बेचिरहेको छ । सरकारले एक सय १५ रुपैयाँ प्रतिकिलो भन्दा बढीमा चिनी बेच्न नपाउने गरी निर्णय गरिसकेको अवस्थामा ढुवानी भाडा, घर भाडा र नाफा कसरी उठाउने भन्दै खुद्रा व्यापारीहरु पनि सरकारप्रति आक्रोशित देखिए । केही खुद्रा व्यापारीहरुले भने मंहगै भए पनि उपभोक्ताले चिनी पाउने भन्दै सन्तोष प्रकट गरे ।
अहिले साल्ट ट्रेडिङले नेपालकै मिलमा मौजात रहेको चिनी खरिद गरि बिक्री वितरण सुरु गरेको हो । भारतबाट आउने भनिएको २५ हजार टन चिनी आउन भने अझै केही समय लाग्ने भएको छ ।
बजारमा चिनी पठाउन सुरु गरिए पनि अझै सहज नभएको उपभोक्ताको गुनासो छ । अझै पनि उपभोक्तालाई यो वर्ष तिहार खल्लै हुने त हैन भन्ने चिन्ता छ ।
प्रतिक्रिया