एमडिएमएसमा दर्ता नभएका मोबाइल आजदेखि नचल्ने
२० कात्तिक २०८० काठमाडौं । ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) प्रणालीमा दर्ता नभएका मोबाइल आजदेखि नचल्ने भएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) प्रणाली पूर्ण रुपमा लागु गर्दैछ। आज राति ९ बजेदेखि केही महँगा मोबाइलमा सेवा बन्द गरेर यसको कार्यान्वयन थाल्ने प्राधिकरणको तयारी छ ।
अहिलेसम्म एमडीएमएसमा दर्ता नगरि चलाएका आईफोन १५ सिरिजका झण्डै २५ सय वटा सेटमा मोबाइलको नेटवर्क लक गरिने छ। गत वर्ष असोज १ देखि परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको यो प्रणालीलाई प्राधिकरणले एक वर्षपछि पूर्ण रुपमा लागू गर्न लागेको हो।
अबदेखि हरेक दिन दर्ता नभएका मोबाइलको नेटवर्क लक हुँदै जाने छन्। प्राधिकरणले एमडिएमएस लागू गर्नुपूर्व कात्तिक ४ गते सार्वजनिक सूचना जारी गरेर १५ दिनभित्र दर्ता गरिसक्न जानकारी गराएको थियो। प्राधिकरणका अनुसार गत वर्ष असोजयता नेपाल भित्रिएका करिब २० लाख व्यक्तिगत मोबाइल सेट यो प्रणालीमा दर्ता छैनन् ।
व्यक्तिगत रूपमा विदेशबाट ल्याइएका मोबाइल पनि यसैमार्फत दर्ता गर्न सकिन्छ। अवैध मोबाइल नियन्त्रण गर्ने उद्देश्यले यो प्रणाली लागु गर्न लागिएको प्राधिकरणको भनाइ छ ।
प्रतिक्रिया