माओवादी केन्द्रको काठमाडौं केन्द्रित जनप्रदर्शन स्थगित
२० कात्तिक २०८० काठमाडौं । नेकपा माओवादी केन्द्रले मंसिर २२ गतेका लागि घोषणा गरेको काठमाडौं केन्द्रित जनप्रदर्शन स्थगित गरेको छ ।
जाजरकोट भूकम्पले ठूलो जनधनको क्षति पुर्याएका कारण काठमाडौं केन्द्रित जनप्रदर्शनका कार्यक्रम तत्कालका लागि स्थगित गरेको पार्टी महासचिव देव गुरूङले जानकारी दिनुभयो ।
उहाँले काठमाडौं केन्द्रित कार्यक्रम स्थगित भए पनि अन्य पालिकाहरूमा तोकिएका जनप्रदर्शनका कार्यक्रम भने यथावत रहेको बताउनुभयो । महासचिव गुरुङले पुनः छलफल गरेर कार्यक्रमको मिति घोषणा गरिने पनि बताउनुभयो ।
माओवादी केन्द्रले गत मंगलबार प्रदेश कमिटीहरूलाई परिपत्र जारी गरी २२ मंसिर मा काठमाडौंलगायत विभिन्न स्थानीय तहमा जनप्रदर्शन गर्न निर्देशन दिएको थियो ।
गत साउन १७ देखि २२ गतेसम्म बसेको पार्टी केन्द्रीय समिति बैठकले विशेष रूपान्तरण अभियानअन्तर्गत तेस्रो चरणमा जनपरिचालन, अन्तरक्रिया, विचार गोष्ठी र सभाहरू गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया