Main News

बढ्दो असन्तुष्टिसँगै दलहरुमाथि अविश्वास (भिडियो रिपोर्टसहित)

२०८० कार्तिक १९ गते १६:५३
बढ्दो  असन्तुष्टिसँगै दलहरुमाथि अविश्वास (भिडियो रिपोर्टसहित)

१९ कात्तिक २०८० काठमाडौं । आम नागरिकमात्र होइन पूर्वराष्ट्रपतिसमेत राजनीतिप्रति दिक्दार देखिन्छन् । तर, जनतामा किन निराशा छ त्यसलाई पत्ता लगाएर आफूलाई सुधार्नेतर्फ न त राजनीतिक दलहरुको ध्यान पुगेको छ न त सांसद र सरकारमा रहनेकै । अहिले देखिएको असन्तुष्टि राजनीतिप्रति हो कि व्यवस्थाप्रति ?

रामवरण यादव, गणतन्त्र नेपालका प्रथम राष्ट्रपति । उहाँलाई पनि अहिले लागेको छ राजनीतिक दलहरुकै कारण संसद, न्यायालय र सरकार ठिक ढंगले चलिरहेको छैन । उहाँको बुझाइमा नागरिकको अहिलेको असन्तुष्टि व्यवस्थाप्रति भने होइन । राजनीतिक दल, नेता, सांसद र सरकारप्रति जनताको असन्तुष्टि रहेको उहाँको बुझाइ छ ।

पूराना राजनीतिक दलहरुले राजतन्त्रको विदाईपछि नागरिकको जीवनमा परिवर्तन आउने सपना देखाएका थिए । आफ्नो संविधान आफैं लेखेपछि शिक्षा, स्वास्थ्य, रोजगारीको विषयमा आमूल परिवर्तन आउने जनताको बुझाई थियो । तर, अवस्था पहिलेभन्दा झन् खराब भइरहेको छ ।

नागरिकले पछिल्लो चुनावमा स्थापित दलमाथि असन्तुष्टि पोखिनै रहेका छन् । नयाँ पार्टीहरुको उदय त्यसैको परिणाम हो । नयाँ आएका दलहरु स्थापित पुराना दलहरुकै कारण अवस्था गिजोलिएको ठान्छन् । उनीहरुको बोली र व्यवहारमा एकरुपता नहुँदा जनतामा राजनीतिप्रति निराशा बढेको छ । के नयाँ दलले आशा बढाउने काम गरे त ?

अहिले राजनीति सत्ता र शक्तिमा केन्द्रीत छ । जसरी पनि शक्ति आर्जन गर्ने नेताहरुमा देखिएको लालसाले राजनीतिमा अपराधीकरण मौलाउँदो छ । कुनै परिणाम नदिएका अनुहारहरु वर्षौदेखि पार्टी, संसद र सत्तामा हाबी छन् । यी अनुहारहरु नफेरिँदासम्म निराशा नमेटिने निष्कर्षमा बुद्धिजीविहरुनै पुग्न थालेका छन् ।

दोस्रो जनआन्दोलनपछि जनताका छोरा–छोरी नै राष्ट्रपति–उपराष्ट्रपति बन्न पाएका छन् । सरकारमा उनीहरुनै छन् । तर, अहिले कुनै पनि दलको मूल नेतृत्व जनप्रिय देखिँदैन । शक्ति हात पारेका जनप्रतिनिधि राजा(महाराजाकै शैलीमा छन् । नागरिकका नजरमा देशमा अहिले कोही रोलमोडल नेता नै छैन । चुनावदेखि चुनाव र सरकारदेखि सरकारसम्म राजनीति केन्द्रित छ । अहिलेकै राजनीतिले मुलुकको स्थिति सम्हाल्न नसक्ने अवस्था बनिसकेको भन्दै जानकारहरु अब राजनीतिले नयाँ बाटो खोज्नुपर्ने ठान्छन् ।

देशमा व्यवस्था बलदलियो तर, जनताको अवस्था उस्तै छ । केही नेताहरुको जीवन फेरिएपछि आमरुपमा नागरिकको जीवन थप कस्टकर बनिरहँदा अहिले राजनीतिप्रति वितृष्णा बढिरहेको छ । यही अवस्था लम्बिरहे व्यवस्थाप्रति नै जनता असन्तुष्ट नहोलान् भन्न सकिन्न । यसतर्फ सरोकारवाला सबैको ध्यान जानु जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *