Main News

भूकम्पपीडितको बिजोग, राहतको काम भोलिबाट मात्रै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० कार्तिक १८ गते २०:२९
भूकम्पपीडितको बिजोग, राहतको काम भोलिबाट मात्रै (भिडियो रिपोर्टसहित)

१८ कात्तिक २०८० काठमाडौं । जाजरकोटको भूकम्पबाट ज्यान जोगाएकाहरु अब रात कसरी काट्ने भन्न् चिन्तामा छन् । भूकम्पपीडितलाई खान र बस्नको ठेगान छैन ।

भूकम्पको पहिलो दिन घाइतेको उद्धारमा सक्रिय भएका सरकारका विभिन्न अंग, पीडितहरुको गास र बासको व्यवस्थापनमा भने चुकेका छन् ।

यो चाँहि भूकम्पको इपिसेन्टर, बारेकोट गाउँपालिकाका अध्यक्षले महसुस गरेको तत्कालीन आवश्यकता हो । भूकम्पबाट जसोतसो ज्यान जोगाएकाहरुलाई अब के खाने र कसरी रात काट्ने भन्ने चिन्ता छ । गाउँमा न त्रिपाल खरिद गर्न पाइन्छ, न खाद्यान्न । घरमा भएको लत्ताकपडा र खाद्यान्न घरसँगै पुरिएको छ ।

सरकारले उद्धारको काम त सुरु गरिसकेको छ तर एक रात, एक दिन भोको बसिसकेका पीडितहरु अब कति समय यसरी रहनुपर्ने हो भन्ने अन्योल र पीरमा छन् । पीडितहरुको अवस्था प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वयमले देखिसक्नु भएको छ ।

तर प्रधानमन्त्री प्रचण्ड आँफै भन्दै हुनुहुन्छ, म काठमाडौं पुगेर भोलि मन्त्रिपरिषद बैठक बसालेपछि राहतको काम सुरु हुन्छ ।

शक्तिशाली भूकम्प र पटकपटकका परकम्पको सन्त्रासमा जसोतसो ज्यान जोगाएकाहरुलाई तत्काल राहत सामग्री उपलब्ध गराउन मन्त्रीपरिषद् बैठक नै बस्नुपर्ने हो ? भूकम्पपीडितहरुलाई आज पनि भोकै नाङ्गै पाखाबारीमै बस भन्नु खोज्नु भएको हो ?

अनि रुकुमपश्चिमस्थित चौरजहारीमा भएको विमानस्थल प्रयोग गरी तत्कालै अत्यावश्यक वस्तुको ढुवानी व्यवस्थापन मिलाउन सरकारका अन्य संयन्त्र परिचालनका लागि प्रधानमन्त्री एक्लैले निर्णय गर्न सक्नु हुन्न र ?

सरकारले केही स्तरमा काम गरिरहेकै हो । तर त्रासमा बाँचिरहेकाहरुको मनोबल बढ्ने गरी तत्काल राहत सामग्री वितरण, सडक र सञ्चारमा भएका अवरोधहरुको निरुपण जस्ता कुरालाई तत्कालै अगाडि बढाउनुपर्नेमा भोलिको भाका किन ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *