भूकम्प पीडितलाई सहयोग गर्ने भारत र चीनको आश्वासन
१८ कात्तिक २०८० काठमाडौं । जाजरकोट केन्द्रबिन्दू बनाएर भूकम्पले पुर्याएको क्षतिले पश्चिम नेपाल अस्तव्यस्त बनेको छ । यो पीडामा मल्हम लगाउन छिमेकी मुलुक भारत र चीनले सहयोगको आश्वासन दिएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज विहानै सामाजिक सञ्जाल एक्समा नेपालमा भूकम्पले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै सहयोगको आश्वासन दिनुभएको छ ।
उहाँले तत्काल उद्दारका लागि सबैखाले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले भूकम्प पीडित तथा प्रभावितलाई सहयोग गर्न तयार रहेको भन्दै भारत पीडामा रहेका नेपाली जनतालाई हर सम्भव सहयोग गर्न तयार उल्लेख गर्नु भएको छ ।
यस्तै नेपालका लागि चिनियाँ राजदूत सेन सोङले पनि भूकम्पले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै चीन सरकार आवश्यक सहयोग गर्न तयार रहेको उल्लेख गर्नुभएको छ । उहाँले सबैखाले सहयोगका लागि तयारी अवस्थामा रहेको पनि नेपाल सरकारलाई जानकारी गराएको बताउनुभयो ।
यता नेपालस्थित अमेरिकी दूतावासले भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त आवश्यक सहयोगका लागि तयार रहेको जनाएको छ । सामाजिक सञ्जालमार्फत दूतावासले भूकम्पको क्षतिपछिको पुनर्लाभ हासिल गर्न नेपाललाई आवश्यक सहयोग गर्न तत्पर रहेको जनाएको हो ।
प्रतिक्रिया