Main News

भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री प्रचण्ड

हिमालय टिभी
२०८० कार्तिक १८ गते १३:३१
भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री प्रचण्ड

१८ कात्तिक २०८० काठमाडौं । सरकारले नेपाल एयरलाइन्सलाई रुकुमपश्चिमको चौरजहारीलाई केन्द्रित गरेर हवाई उडान गर्न र अन्य एयरलाइन्सहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

रुकुमपश्चिम र जाजरकोटका भूकम्प प्रभावितहरुको राहत तथा उद्धारका लागि सहज होस् भनेर रुकुमलाई केन्द्रित गरेर हवाई उडान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले अरु ठाउँको उडान स्थगित गरेर भए पनि रुकुमलाई केन्द्रित गरेर हवाई उडान गर्न नेपाल एयरलाइन्सलाई निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

रुकुमपश्चिमको चौरजहारी र खलंगामा एयरपोर्टहरु छन् । तर जाजरकोटमा एयरपोर्ट भए पनि सन्चालनमा छैन । रुकुमका एयरपोर्टहरुमा साना ट्वीनअटर हवाईजहाजमात्र उडान हुने गरेका छन् । जाजरकोट र चौरजहारी नजिक भएकाले चौरजहारी एयरपोर्टबाट जाजरकोटमा पनि सेवा पुर्याउन सकिने सरकारको विश्वास छ ।

यसैगरी सँस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले रुकुमलाई केन्द्रित गरी नेपालगञ्ज, सुर्खेत लगायतका स्थानमा पनि अन्य एयरलाइन्सलाई स्ट्याण्डबाई रहन निर्देशन दिइएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बिहानै नेपाली सेनाको मेडिकल टिमसहित हेलिकोप्टरमार्फत् भूकम्प प्रभावित क्षेत्र पुग्नु भएको छ । प्रधानमन्त्रीसँगै पूर्वगृहमन्त्रीद्वय जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत पनि हुनुहुन्छ । दुबै सांसद भूकम्प प्रभावित जिल्लाबाट निर्वाचित हुनुहुन्छ । धेरै क्षति भएको नलगाड बस्नेतको गाउँ हो ।

भूकम्पबाट जाजरकोटको नलगाड नगरपालिका, रुकुमपश्चिमको आठविसकोट नगरपालिकामा बढी क्षति भएको छ । प्रधानमन्त्रीको निजी सचिवालयले बिहानैदेखि घाइतेको खोज र उपचारका लागि सुर्खेतबाट तीन वटा हेलिकप्टर परिचालन भैसकेको जनाएको छ ।

यसअघि प्रधानमन्त्री प्रचण्डले भूकम्पमा परी घाइतेहरूको तत्काल उद्धार र राहतका लागि तीनवटै सुरक्षा निकायलाई निर्देशन दिनु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *