संसद भवनको क्यान्टिनमा राखेको खानेपानीमा भेटियो किरा (भिडियो रिपोर्टसहित)
१७ कात्तिक २०८० काठमाडौं । अक्वाको पानीको जारमा लामखुट्टेको लार्भा भेटिएको छ । बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा संचालित क्यान्टिनले उपभोक्तालाई दिएको पानीमा लामखुट्टेको लार्भा भेटिएको हो ।
देश संचालन गर्ने र कानून बनाउने मन्त्री, सांसद र पहुँचवालाहरुले खाजा खाना खाने क्यान्टिनमा लार्भा भेटिदा पनि कुनै कारबाही नगरि छोडिएको छ ।
यो दृष्य संघीय संसद भवन नयाँ बानेश्वरको चमेनागृहले मन्त्री, सांसद र आगन्तुकलाई उपलब्ध गराएको पिउने पानी हो । यो बोतलमा भरिएको पानीमा स्पष्ट देख्न सकिन्छ लामखुट्टेको लार्भा घुमिरहेको छ । फेरि एक पटक यो दृष्य हेर्नुस् ।
बिहीबार क्यान्टिनको टेबलमा भेटिएको यो पानीको बोतल देख्दा खुला जस्तो देखिएपनि चमेनागृहले अक्वाको सिलप्याक जारबाटै बोतलमा भरेर ल्याएको हो ।
यो चमेनागृह आमसर्वसाधारणको पहुँच छैन । यहाँ त देश संचालन गर्ने र कानून बनाउने मन्त्री, सांसद र पहुँचवालाहरुले मात्र प्रवेश पाउँछन् । उनीहरुले नै खाजा खाना खाने यो क्यान्टिनमा लार्भा भेटिदा पनि पानी उत्पादक कम्पनी र उपभोक्तालाई यस्तो दूषित पानी खुवाउने चमेनागृहलाई कुनै कारबाही गरिएन ।
यसबाट प्रष्ट हुन्छ पानी उत्पादक कम्पनी र संघीय संसदको नारायणी चमेना गृहले उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड गरिरहेका छन् । मुलुकको कानून बनाउने र कानून विपरितका कार्य गर्नेलाई कारबाहीको दायरमा ल्याउन मन्त्री र सांसदहरु नै निरिह छन् ।
जयसले जनस्वास्थ्यमा मनोमानी गर्ने अक्वा पानी उत्पादक कम्पनीलाई हाइसन्चो मिलेको छ । यस अघि धादिङको सिद्धलेख–६ परेवाटारमा उत्पादित एरोमा नामको शिल लगाइएको खानेपानीको बोतलमा किरा भेटिएको थियो । स्थानीय प्रशासनले उक्त कम्पनीमा शिल लगाइ कारबाही गरेको थियो ।
प्रतिक्रिया