गुटेरेसको भ्रमणमा देखिएका यी अपाच्य दृष्यहरू (भिडियो रिपोर्टसहित)
१५ कात्तिक २०८० काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस चार दिने नेपाल भ्रमण सकाएर लण्डन प्रस्थान गर्नुभएको छ ।
यो चार दिन नेपालमा रहँदा गुटेरेसले हिमाली क्षेत्रको अवलोकन गर्नुका साथै संयुक्त सदनलाई सम्बोधन गर्नुभयो । चार दिने भ्रमणमा नेपालले जलवायु परिवर्तनका कारण भोगेको समस्या विश्वसामु उजागर गर्दा सरकारको कुटनीतिक कमजोरी पनि उदांगियो ।
सन् २००८ मा संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव बान कि मुनको भ्रमण भएको थियो । त्यसको १५ वर्षपछि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल भ्रमण गर्नुभयो ।चार दिने भ्रमणको सुरुवातमा सरकारले गुटेरेसको भ्रमणको उद्देश्यबारे सञ्चारमाध्यमदेखि नागरिकलाई प्रचार गर्न चुक्यो । तर गुटेरेसले भ्रमणको उद्देश्य जलवायु परिवर्तनले नेपालमा पारेको प्रभावबारे स्थलगत अवलोकन गर्नुभएको आफै प्रष्ट पारिदिनुभयो । सरकारले कुटनीतिक व्यक्ति आउनुको मुख्य उद्देश्य नै प्रष्ट पार्न नसकेदेखि देखिएको कुटनीतिक कमजोरी र अपाच्य दृष्य भ्रमणभरी नै देखियो ।
सरकारको कूटनीतिक कमजोरी
गुटेरेसलाई मध्यरातमा सम्मान गारद
आइतबार राति १ बजे काठमाडौँ ओर्लिनुभएका संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसलाई मध्यरातमै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सम्मान गारद अर्पण गरियो । अनौपचारिक पोसाकमा नेपाल अवतरण गर्नुभएका गुटेरेसलाई औपचारिक समारोहमै दिन सकिन्थ्यो । र यही कमजोरी जाँदा पनि दोहोरियो ।
गञ्जागोल भेटवार्ता
सरकारले गुटेरेसको राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, परराष्ट्रमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष र राजनीतिक दलका नेतासँग शिष्टाचार भेटको समय तालिका बनाएको थियो । तर संसदको ल्होत्से हलमा भएको भेटघाटमा भने कुटनीतिक कमजोरी देखियो । सुरुमा नेपाली कांग्रेसका सभापितसहितको टोलीले भेटघाट गर्यो । र भेटघाट सकिएलगत्तै एमालेको टोलीसँग भेट भयो । कांग्रेस सभापति शेरबहादुर देउवा उठेर जान नपाउँदै एमाले अध्यक्ष केपी शर्मो ओलीसँगको भेट अशोभनीय र तयारीविहीनको भेट जस्तो देखिएको थियो ।
देउवाले पदाधिकारी चिनाउँदै असहज मान्दै गुटेरेस
कांग्रेस नेताहरूसँग पुग्नुभएका देउवाले गुटेरेससँग हात मिलाएपछि गुटेरेस बस्न खोज्दै हुनुहुन्थ्यो । तर देउवाले मान्छे चिनाउन थालेपछि उहाँ बस्ने वा उठ्नेमा नै दुविधामा पर्नुभयो । उहाँ बस्न खोज्नुहुन्थ्यो तर देउवाको पात्र चिनाउने नसकिनुले त्यो दृश्य अपाच्य जस्तो देखियो ।
ओलीले लगाइिदए खादा
भ्रमणका क्रममा एमालेले भने गुटेरेस र उहाँसँगै आएको समुहलाई खादा लगाइिदएको थियो । उक्त खादा लगाएरै गुटेरेस संसदबाट बाहिरिनुभएको थियो ।
भेट गरेपछि सभामुख एक्लै बाहिरिए
भेटघाट यति हतारमा भइरहेको थियो कि एकपछि अर्को व्यक्तिसँग गुटेरेस लगातार भेटिरहनुभएको थियो । सभामुख देवराज घिमिरेले गुटेरेससँग भेटेर हलबाट एक्लै बाहिरिएको दृश्यले विदेशी पाहुना नेपाल आउँदाको तयारी कति लाजमर्दो थियो दृष्यले नै बोलिरहेको थियो ।
प्रधानमन्त्रीसँगको पत्रकार सम्मेलन
प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटेपछि बाहिर परिसरमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । उक्त पत्रकार सम्मेलनमा गुटेरेसले सम्बोधन गरेको विश्वले हेरिरहँदा ठीक माथिपट्टी भने अन्य उपस्थितहरुको खुट्टा मात्र देखिँनु अपाच्य थियो ।
परराष्ट्र सचिवको हात मिलाउने हतारो
प्रधानमन्त्रीलाई भेट्न मन्त्रिपरिषदको कार्यालय जाँदै गर्दा बाहिर प्रधानमन्त्रीका सल्लाहकार र परराष्ट्रका पदाधिकारी लामबद्ध थिए । गुटेरेस आइपुगेपछि केहीले नमस्कार गरे केहीले हात मिलाए । परराष्ट्र सचिव भरतराज पौडेलले भने डायरी, मोबाइल बोक्नुभएको थियो । तर नमस्ते गरेर अघि बढ्नुभएका गुटेरेससँग हात नमिलाई भएन । हात मिलाउने हतारोको दृश्य पनि लाजमर्दो थियो ।
एजेन्डा स्थापति गर्न नसक्नु भुल
इजरायल र हमासबीचको द्वन्द्व चर्किरहेको समयमा गुटेरेस नेपाल आउँदा विश्वको ध्यान तानिएको थियो । विश्वको नजर नेपालमा भइरहँदा जलवायु परिवर्तनको मुद्दामा गुटेरेस सगरमाथा र अन्नपूर्ण बेस क्याम्प पुगिरहँदा सरकारले जलवायु विज्ञ राखेर गुटेरेससँग यस सम्बन्धी अन्तरक्रिया गराउन सकेन । नेपालले भोगेको समस्या विश्वसामु सुनाउने कुनै गोष्ठी आयोजना भएन । बरु उल्टै गुटेरेसले संसदमा सम्बोधन गरेर नेपाललाई सहयोग गर्न अपिल गरिदिनुपर्यो ।
यी बाहेक संसदबाट गुटेरेसले सम्बोधन गरिररहँदा संसद सचिवालयको भिडियोको गुणस्तर, मौन धारण गर्न अनुरोध गर्दा सांसदले अंग्रेजी नबुझ्दा समयमै उभिन नसक्नुले पनि चार दिने भ्रमणमा खड्किएका विषयहरू हुन् । जुन आगामी दिनमा सरकारले पक्कै सच्याउनेछ ।
प्रतिक्रिया