Main News

मुगु हत्या प्रकरण, अझै पत्ता लागेन दोषी (भिडियो रिपोर्टसहित)

२०८० कार्तिक १५ गते २०:३०
मुगु हत्या प्रकरण, अझै पत्ता लागेन दोषी (भिडियो रिपोर्टसहित)

१५ कात्तिक २०८० मुगु । मुगुको छायानाथ रारा नगरपालिका–६, मन्दू गाउँमा एकै परिवारका ४ जनाको बीभत्स हत्या गरिएको एक साता पुग्दासम्म पनि हत्यारा पत्ता लागेको छैन ।

विभिन्न कोणबाट तीव्र गतिमा अनुसन्धान भइरहे पनि हत्यारा पत्ता लगाउन कठिनाइ भइरहेको हो । यद्यपि अनुसन्धान अधिकृतहरू हत्यारा निकट पुगेको बताइरहेका छन् । तर, घटनाबारे अझै पनि वास्तविक ‘क्लु’ पत्ता लगाउन मुस्किल भइरहेको छ ।

मुगुको छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँमा वंश नै नाश हुने गरी भएको सामुहिक बिभत्स हत्या घटना भएको हप्ता दिन पुगेको छ ।

घटना भएको हप्ता दिन पुगिसक्दा पनि प्रहरी घटनाको जडसम्म पुग्न सकेको छैन । कार्तिक ८ मा साँझ ३ जना बच्चा र आमाको हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । घटनाबारे कार्तिक १० मा खबर पाएपछि जिल्ला प्रहरी कार्यालय मुगुको टिमले अनुसन्धान सुरु गरेको थियो ।

मुगु प्रहरीलाई कर्णाली प्रदेश प्रहरी कार्यालयबाट खटिएका अनुसन्धान अधिकृतहरूले सहयोग गरिरहेका छन् । अनुसन्धानलाई सघाउन आइतबार प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक ९डिआइजी० भीमप्रसाद ढकाल पनि घटनास्थलमा पुग्नुभएको छ। तालिम प्राप्त कुकुरले समेत कुनै संकेत नदिएपछि अनुसन्धान अझ लम्बिने देखिएको छ । अनुसन्धानमा खटिएका प्रहरी अधिकृतका अनुसार अनुसन्धानका लागि घर वरिपरि र अन्य केही शङ्कास्पद व्यक्तिहरूलाई सोधपुछ गर्ने कार्य भइरहेको छ ।

घटनाको ‘क्लु’ पत्ता नलाग्दा अनुसन्धान केही लम्बिने देखिएको छ । कार्तिक ८ गते साँझ भएको तर, श्रीदेवीका श्रीमानको म्यासेन्जरमा भने ९ गते श्रीदेवीको मोबाइलबाट टिका लगाएको फोटो पठाइएको छ ।

श्रीदेवीको मोबाइल हत्याराले नै लगेको हुनाले उक्त तस्बिर हत्याराले नै पठाएको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीले प्राविधिक कुराहरूमा अनुसन्धान गरिरहेको छ । यद्यपि मुगुमा नेटवर्क समस्याले केही कठिनाइ भइरहेको छ । मृतक श्रीदेवीका श्रीमान् दीपक बोहोरा भने दोषीलाई कारबाही नभएसम्म शव नबुझ्ने बताइरहेका छन् ।

कतारमा रहेका दीपक शनिवार बिहान ११ बजे घरमा आइपुगेका थिए । उनी आइसकेपछि शवहरू पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको थियो । शवहरूको पोस्टमार्टम भए पनि परिवारले बुझेको छैन । छाँयानाथ रारा नगरपालिका–६, का वडाध्यक्ष खेमबहादुर रावलकाअनुसार हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने भन्ने अडान परिवारको छ ।

धारिलो हतियार प्रहार गरेर हत्या गरेपछि हत्याराले ढोकामा ताला लगाएर हिँडेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । घटना घटाइसकेपछि मूल ढोकामा प्रयोग हुने ताला नभएर अन्तबाट नै ल्याइएको अर्कै ताला प्रयोग भएको छ । घटनास्थल मुन्दु गाउँ मुगु सदरमुकाम गमगढीदेखि एक घण्टाको पैदल दुरीमा पर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *