पशुपतिको जग्गामा मारवाणी सेवा समितिको लुट ! (भिडियो रिपोर्टसहित)
१५ कात्तिक २०८० काठमाडौं । पशुपति क्षेत्र विकास कोषको जग्गामा धर्मशाला सञ्चालन गरिरहेको मारवाणी सेवा समितिको पटक पटकको ताकेतापछि पनि जग्गा छाड्न अटेरी गरिरहेको छ । बरु उल्टै मोहियानी हक दाबी गरेको छ ।
करोडौं मूल्य पर्ने सार्वजनिक सम्पत्तिमा समितिले सामाजिक सेवाको आवरणमा अकुत आर्जन गरिरहेको छ । तर उसको गैरकानूनी क्रियाकलाप रोक्न र त्यहाँबाट हटाउन कोष मात्रै नभएर संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती पनि निरीह देखिनु भएको छ ।
काठमाडौंको अति महत्वपूर्ण क्षेत्र गौशालामा पशुपति क्षेत्र विकास कोषको नाममा रहेको नौ रोपनी नौ आना २ पैसा सार्वजनिक मारवाणी सेवा समितिले कौडीको भाउमा प्रयोग गर्दै आएको छ । धर्मशाला सञ्चालन गर्ने भनेर उपयोग गर्ने सहमति विपरित विभिन्न संरचना खडा गरी गेष्टहाउस, ट्राभल ऐजन्सी लगायतका व्यवसायी सञ्चालन गरिरहेको छ ।
जसबाट लाखौं आर्जन गरिरहेको समितिले कोषलाई वार्षिक ५१ हजार रुपैयाँ मात्रै दिने गरेको छ । २०६० जेठमा भएको सम्झौता अनुसार उल्लेखित रकम सहयोगका नाममा दिइरहेको समितिलाई कोषले सम्झौता नवीकरण गरी समयानुकुल भाडा समायोजन गर्न आग्रह गरेको थियो । दुई दशकअघि भएको सम्झौतामा करार अवधि समेत उल्लेख नभएकाले करारीय दायित्व हुने गरी सम्झौता नवीकरण गर्न गरेको आग्रह अटेरी गरेपछि कोषले एकतर्फी रुपमा सम्झौता नै खारेज गरिसकेको छ ।
त्यस्तै आफ्नो जग्गा खाली गर्न कोषले पटक पटक ताकेता पनि गरिसकेको छ । तर मारवाणी समिति उल्टै मोहीयानी हक दावी गर्दै अदालत पुगेको छ । अहिले समितिले कोषको निर्णय र आग्रहविरुद्ध जिल्ला अदालत काठमाडौंमा मात्रै नभएर उच्च अदालत पाटन र सर्वोच्च अदालतमा गरेर दर्जन हाराहारीमा रिट हालेको छ ।
सामाजिक संस्था भएकाले केही लचिलो व्यवहार देखाएर सम्झौता नवीकरण गरेर आफैंले सञ्चालन गर्नका लागि आफूहरुले गरेको आग्रह पनि सुनुवाई नगरी समितिले अटेर गरिरहेको पशुपति क्षेत्र विकास कोषको आरोप छ ।
यसै बिषयमा हामीले मारवाणी सेवा समितिका अध्यक्ष कैलाश गोयललाई कुराकानीका लागि समय माग्न खोज्दा उहाँले आफू व्यस्त भएको भन्दै बोल्न मान्नु भएन ।
मारवाणी सेवा समितिको अटेरीविरुद्ध कोष मात्रै नभएर संस्कृति पर्यटन नागरिक उड्ययन मन्त्री सुदन किराती पनि निरिह देखिनु भएको छ । विगतमा सर्वोच्च अदालतले नै कोषको जग्गा किटान गरिसकेको अवस्थामा अहिले पनि अदालतमा मुद्दा भएको कारण देखाएर आफ्नो जग्गामा समितिलाई मनोमानी गर्न दिनु विडम्बना हो । कोषको जग्गामा बनेको मुख्य भवनको बाहिर सडक तर्फ १८ वटा सटर निकारे भाडामा लगाइएको छ ।
सटरबाट मात्रै मासिक ७ देखि ८ लाख रुपैयाँ भाडा उठ्छ । संगै रहेको एउटै औषधी पसलबाट मात्रै मासिक साढे चार लाख रुपैयाँ भाडा असुलिन्छ । भवनको भित्र गेस्ट हाउस चलाइएको छ । जहाँ एउटा कोठाको एक दिनको १ हजार रुपैयाँसम्म भाडा उठाउने गरिन्छ ।
धर्मशालामै मासिक २ लाख भाडामा रेष्टुरेन्ट सञ्चाल गर्न दिएको छ । तीर्थयात्रीका लागि निशुल्क भोजन उपलब्ध गराउनुपर्ने धर्मशालामा साकाहारी खानाको प्रतिप्लेट १ सय २० रुपैयाँ असुलिन्छ । यसरी धर्मशालाको नाममा समितिले २० देखि २५ लाख रुपैयाँ मासिक आम्दानी गर्दै आएको छ ।
विक्रम संवत १९९९ जेठ मा साँढेहरुको संरक्षणका लागि जुनेलो घाँस लगाउने नाममा मारवाणी समुदायका हरिनारायण भन्ने रामकुमार मारवाणीलाई १ रोपनी २ आना जग्गा उपलब्ध गराइएकोमा अहिले निरन्तर अतिक्रमण गर्दै झण्डै १० रोपनी जग्गा मारवाणी सेवा समितिको नाममा ओगटिएको छ ।
प्रतिक्रिया