परराष्ट्रमन्त्री साउद र यूएएसआईडीका प्रमुख पावरबीच भेटवार्ता
१५ कात्तिक २०८० काठमाडौं । अमेरिकाको औपचारिक भ्रमणमा आएका परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र अमेरिकी सहयोग नियोग (यूएसएआइडी) का प्रमुख प्रशासक समान्ता पावरबीच भेटवार्ता भएको छ।
उक्त भेटका अवसरमा नेपालको विकासका प्राथमिकताहरूमा यूएसएआइडीका चालु कार्यक्रमहरू र त्यसको प्रभावकारिताका विषयमा छलफल भएको थियो। भेटका अवसरमा प्रशासक पावरले अमेरिकी सरकारका तर्फबाट नेपालको प्रजातान्त्रिक प्रक्रियाको प्रगति एवं मजबुत सम्बन्ध निर्माणका क्षेत्रमा प्रतिबद्धता जनाउनुभएको थियो ।
प्रशासक पावरले नेपालको समावेशी आर्थिक विकासको अभिवृद्धिका लागि नियोगको प्रतिबद्धता व्यक्त गर्दै नेपाल सरकार तथा निजी क्षेत्रमार्फत लगानीका सम्भावनाका बारेमा नियोगको कार्यबारेसमेत छलफल गर्नुभएको थियो ।
भेटका अवसरमा दुई देशका बीचमा विगत ७५ वर्षभन्दा लामो समयदेखि नेपाल अमेरिकाबीचको निकट साझेदारी र सम्बन्धका विषयमा चर्चा गरेका थिए। सन् २०२२ को मे ५ मा पाँच वर्षका लागि नेपाल सरकार र यूएसएआइडीले गरेका विकाससम्बन्धी सम्झौताअनुसार ६५ करोड ९० लाख अमेरिकी डलर बराबरको सम्झौता भएको थियो।
उक्त रकम नेपालले अल्पविकसित देशबाट स्तरोन्नति भएर मध्यमस्तरको विकासशील देशका रूपमा प्रवेश भएपछिको अवस्थालगायतका विषयमा खर्च गरिने उल्लेख गरिएको छ। यस्तै मन्त्री साउद र विकास वित्त निगमका प्रमुख कार्यकारी अधिकृत नाथनबीच पनि भेट भएको थियो ।
मन्त्री साउदले नेपाल सरकारले नेपालमा निजी क्षेत्रको लगानी प्रवर्द्धनका लागि लिइएको रणनीतिका बारेमा प्रकाश पार्दै निगममार्फत अमेरिकाका निजी क्षेत्रलाई लगानी अभिवृद्धि गराउन प्रेरित गर्नसमेत अनुरोध गर्नु भएको थियो ।
निगमका प्रमुख कार्यकारी अधिकृत नाथनले नेपालको आर्थिक विकासमा निगमको लगानी वृद्धिसम्बन्धी दृष्टिकोण र सम्भावित क्षेत्रहरूका बारेमा आफ्नो धारणा राख्नु भएको थियो ।
प्रतिक्रिया