एमसीसी सम्झौतापछि नेपालमा सहायता बढाउँदै अमेरिका (भिडियो रिपोर्टसहित)
१४ कात्तिक २०८० काठमाडौं । अमेरिका नेपालको विकास साझेदार राष्ट्रहरुमध्ये मुख्य हो । अमेरिकी परियोजना मिलेनियमएम च्यालेन्ज कम्प्याक्ट एमसीसी नेपालमा लागु भएपछि उसले थप सहयोगको घोषणा गरेको छ ।
चार दिने भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी समकक्षी एन्टोनी व्लिन्केनसँगको द्विपक्षीय भेटवार्तामा अमेरिका १६ अर्ब बढी रकमको ऋण नेपाललाई दिन सकारात्मक देखिएको छ । भूराजनीतिका लागि सामरिक महत्व बोकेको नेपाललाई अमेरिकाले थप चासो देखाएको छ ।
अमेरिकाले नेपालसँगको सम्बन्धलाई थप मजबुद बनाउन आर्थिक लगानीमा चासो देखाएको छ । ४ वर्षपछि नेपालका परराष्ट्रमन्त्री साउदलाई औपचारिक निमन्त्रणा दिएको अमेरिकाले आर्थिक पक्षलाई महत्व दिएको हो ।
विरोधकाबीच पारित भएको एमसीसी परियोजना कार्यान्वयनमा गएसँगै अमेरिका थप लगानी गर्न इच्छुक देखिएको छ । अमेरिकाले नेपालका साना तथा मझौला उद्यम विकासका लागि १६ अर्ब ३७ करोड नेपाली रुपैयाँ बराबरको ऋण दिन सकारात्मकता देखाएको हो । १ सय २५ मिलियन अमेरिकी डलर बराबरको ऋण साना तथा मझौला उद्यमलाई उपलब्ध गराउन नेपाली बैंकलाई दिइनेछ ।
एमसीसी पारित हुनुअघि २०७६–७७ सम्म विकासमा अमेरिकाले सहयोग गर्दैन थियो । भूकम्पबाट प्रभावित संरचना निर्माण बाहेक अमेरिकाले विभिन्न अधिकारका नाममा रकम खर्चिदै आएको थियो । एमसीसी पारित गरेपछि अन्तर्राष्ट्रिय विकासका लागि संयुक्त राज्य एजेन्सी यूएसएड अन्र्तगत पाँच वर्षमा ६५ करोड ९० लाख अमेरिकी डलर अनुदान दिने घोषणा गरेको छ ।
एमसीसीमा हस्ताक्षरपछि अमेरिकाबाट प्राप्त सहयोग
सन् २०१७– १९ करोड २९ लाख अमेरिकी डलर
सन् २०१८– १३ करोड ९९ लाख अमेरिकी डलर
सन् २०१९–१७ करोड ४२ लाख अमेरिकी डलर
सन् २०२०– १२ करोड ४३ लाख अमेरिकी डलर
सन् २०२१– १८ करोड १८ लाख अमेरिकी डलर
सन् २०२२–१७ करोड ५८ लाख अमेरिकी डलर
सन् २०२३ ९अक्टोबर० – ९ करोड ४७ लाख अमेरिकी डलर
अमेरिकाले पछिल्लो चासो नेपालसँग जोडिएको छ । भूराजनीतिक विषयका जानकारहरु उदाउँदा दुई शक्ति चीन र भारतबीचमा रहेको र त्यसमा पनि तिब्बतसँग सीमा जोडिएका कारण नेपाल अमेरिकाको प्राथमिकतामा सधैँ रहेको ठान्छन् । सन् २०१७ मा एमसीसीमा हस्ताक्षर पछि २०१९ मा तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई अमेरिकाले औपचारिक निमन्त्रणा दिएर सम्बन्ध बलियो बनाउने सन्देश दिएको थियो ।
त्यसयता उपल्लो अधिकारीहरुको लगातारको नेपाल भ्रमण गराएर पुनः अहिले एनपी साउदलाई निमन्त्रणा दिएर थप सहयोगको आश्वासन दिएको छ । यसले पनि अमेरिका सिधा आँखाबाट नेपालमा आफ्नो अस्तित्व कायम गर्न चाहेको प्रष्ट हुन्छ ।
प्रतिक्रिया