Main News

जनता समाजवादी र लोकतान्त्रिक पार्टी पुनः नजिकिन थाले (भिडियो रिपोर्टसहित)

२०८० कार्तिक १४ गते २०:३१
जनता समाजवादी र लोकतान्त्रिक पार्टी पुनः नजिकिन थाले (भिडियो रिपोर्टसहित)

१४ कात्तिक २०८० काठमाडौं । शक्तिमा रहँदा फुट्ने र कमजोरबन्दा जुट्ने आरोप खेपेका मधेश केन्द्रित दल जनता समाजवादी र लोकतान्त्रिक पार्टी पुनः नजिकिन थालेका छन् ।

मधेश प्रदेशमा सिके राउत नेतृत्वको जनमत पार्टी र सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीको जर्वजस्त उपस्थितिले जसपा र लोसपा रक्षात्मक अवस्थामा पुगेका छन् भने एक आपसमा मिल्नु पर्ने दवावमा छन् । नेताहरुले नै भन्ने गरेको मिसन ८४ मा के यी दुई दलबीच एकता होला ?

जनता समाजवादी पार्टी जसपा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपा दुबै दलले मधेशको मुख्य शक्ति आफूनै भएको दाबी गर्दै आएका छन् । तर गत मंसिरमा सम्पन्न निर्वाचनमा दुवै दललाई टक्कर दिँदै मधेशमा दुई नयाँ शक्ति जनमत पार्टी र नागरिक उन्मुक्तिको उदय भयो ।

समानुपातिकमा तीन प्रतिशतको थ्रेसहोल्ड कटाएर जसपा मुश्किलले राष्ट्रिय दल बन्न सफल हुँदा लोसपाको भने राष्ट्रिय दलको पहिचान नै खोसियो । दुवै दल खुम्चिनुको कारण नयाँ दलहरुको उदयसंगै मधेशमा नेकपा एमालेको प्रभाव विस्तार हुनु । यसो त तराई मधेशमा नेपाली कांग्रेसको पुरानो विरासत यथावत छ ।

नेकपा एमाले, जनमत, नागरिक उन्मुक्तिसंगै आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको पनि प्रभाव रहने भएकाले आफूलाई मधेशको मुख्य शक्ति मान्दै आएका जसपा र लोसपाको छटपटि सुरु भैसकेको विश्लेषण हुन थालेको छ । यस्तोमा विगतमा पार्टी एकता गरेर पनि फुटेका जसपा र लोसपा नजिकिन थालेको बताइएको छ । ठूला दल कांग्रेस, एमाले, माओवादी केन्द्रसंगै जनमत, नागरिक उन्मुक्ति, आम जनता पार्टी पनि आक्रमक रुपमा मिसन ८४ का लागि अघि बढ्दा जसपा र लोसपालाई थप अप्ठेरो परेको छ ।

उनीहरुलाई एक आपसमा मिल्नै पर्ने दवाव छ । तर मिल्न भने सजिलो छैन् । किनकी विगतमा कुनै विचारका लागि भन्दा पनि शक्ति आर्जनका लागि मिलेर सत्ता बाँडफाँटका क्रममा विभाजित हुन पुगेको तितो अनुभव दुवै दलसंग छ । एक आपसमा मिल्नै पर्ने दवावमा भएपनि यस पटक हतारमा पार्टी एकता गरी हाल्ने पक्षमा दुबै छैनन् ।

बिचार मिल्ने दलसंग सके पार्टी एकता नभए कार्यगत एकता वा गठबन्धनका लागि सधैं तयार रहेको जसपाका प्रवक्ता प्रकाश अधिकार बताउनुहुन्छ । पार्टी एकताकै लागि भने लोसपा सहित कुनै दलसंगै औपचारिक रुपमा कुराकानी नभएको प्रवक्ता अधिकारीको दाबी छ ।

२ हजार ७७ साल बैशाख १० गते उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी राजपाका बीचमा मध्येरातमा एकताको घोषणा भइ जनता समाजवादी पार्टी गठन भएको थियो । तर सत्तामा पुगेपछि शक्तिको बाँडफाँटमा विवाद हुँदा २ हजार ७८ भदौंमा पूर्वराजपाका महन्थ ठाकुर, राजेन्द्र महतो, लगायतका नेताहरुले लोकतान्त्रिक समाजवादी पार्टी नामको छुट्टै पार्टी गठन गरेका थिए भने उपेन्द्र यादव, बाबुराम भट्टराई, अशोक राई सहितका पूर्व समाजवादी पार्टीका नेताहरु भने जसपामै रहेका थिए । पछि भट्टराई पनि अलग भएर अहिले नेपाल समाजवादी पार्टीको नेत्तृत्व गरिरहनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *