खेलकूद

नेपाल टी–ट्वेन्टी विश्वकप छनोट क्रिकेटको सेमिफाइनल प्रवेश

मलेसिया ६ विकेटले पराजित

हिमालय टिभी
२०८० कार्तिक १४ गते १६:५१
नेपाल टी–ट्वेन्टी विश्वकप छनोट क्रिकेटको सेमिफाइनल प्रवेश

१४ कात्तिक २०८० काठमाडौं । मलेसियालाई ६ विकेटले हराउँदै नेपाल आइसीसी ट्वेन्टी विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह ए बाट ओमानले पनि सेमिफाइनलमा स्थान बनाएको छ । समान चार अंक भए पनि नेपाल नेटरनरेटका कारण दोस्रो स्थानमा छ ।

१ सय ६६ रनको विजयी लक्ष्य नेपालले १८ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको छ । नेपालका लागि कुशल मल्लले ३४ बलमा २ चौका र ७ छक्कासहित सर्वाधिक ६५ रन बनाए। नेपाललाई ओपनर कुशल भुर्तेलले २५ बलमा ४ चौका र ४ छक्कासहित ४३ रन जोड्दै जितको आधार तय गरेका थिए ।

ओपनर आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ५।२ ओभरमा ४९ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए । दोस्रो विकेटका लागि कुशल मल्ल र आसिफ शेखले ६७ रनको साझेदारी गरे । आसिफ २३ बलमा १ चौका र २ छक्कासहित ३२ रनमा आउट भए । रोहित पौडेल २ रनमा आउट भए ।

सन्दीप जोरा १६ बलमा २ चौकासहित १८ र विवेक यादव २ रनमा अविजित रहे । मलेसियाका अमिर अजिमले ३ र पवनदीप सिंहले १ विकेट लिए।

यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रन बनाएको थियो ।

यसअघि आजै भएको खेलमा ओमानले पनि सिंगापुरलाई २२ रनले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो ।

ओमानले पहिलो खेलमा मलेसियालाई ३२ रनले हराएको थियो । समूह ए मा नेपाल २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । ओमान २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ ।

समूह ए मा नेपालले अन्तिम खेल बिहीबार ओमानसँग खेल्नेछ । यो खेलले समूह ए को विजेता र उपविजेता निर्धारण गर्नेछ । समूह ए को विजेता टोलीले समूह बी को उपविजेता र समूह ए को उपविजेता टोलीले समूह बी को विजेतासँग खेल्नेछ ।

फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने ट्वेन्टीट्वेन्टी विश्वकप खेल्न पाउनेछन् । समूह बी मा युएई २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । बहराइन २ खेलमा १ मा जित र १ मा हारसहित २ अंकका साथ दोस्रो स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्