खेलकूद

मलेसियाले नेपाललाई दियो १६६ रनको चुनौती

हिमालय टिभी
२०८० कार्तिक १४ गते १५:०७
मलेसियाले नेपाललाई दियो १६६ रनको चुनौती

१४ कात्तिक २०८० काठमाडौं । ओपनर सैद अजिजको अर्धशतकमा मलेसियाले आइसिसी ट्वेन्टी–ट्वेन्टी विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा नेपाललाई १ सय ६६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रन बनायो । मलेसियाका ओपनर सैद अजिजले ४९ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ६८ रन बनाए ।

ओपनर अहमद जुबैदी र सैद अजिजले ५ दशमलब ५ ओभरमा ५८ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए । जुबैदीले १६ बलमा ३ चौकासहित २४ रन बनाए । नेपालका तीव्र गतिका बलर अभिनाश बोहराले ४ ओभरमा २७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए ।

सन्दीप लामिछाने, गुलशन झा, कप्तान रोहितकुमार पौडेल र करण केसीले ११ विकेट लिए । नेपाल आज लगातार दोस्रो जितसहित सेमिफाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रिएको छ । नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो ।

यसअघि आज सम्पन्न खेलमा ओमान र बहराइन विजयी भएका छन् । समूह ए मा सिंगापुरलाई २२ रनले हराउँदै लगातार दोस्रो जितसहित शीर्ष स्थानमा पुगेको ओमान सेमिफाइनल नजिक पुगेको छ ।

यही समूहको अर्को खेलमा नेपालले मलेसियालाई पराजित गरे ओमान अन्तिम चारमा पुग्नेछ । उता समूह बी मा बहराइनले हङकङमाथि २० रनको जित निकाल्यो । यस समूहमा एकएक जितसहित युएई शीर्ष स्थानमा रहँदा बहराइन दोस्रो र हङकङ तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्