Main News

नियमित अन्तर्राष्ट्रिय उडानको माग गर्दै व्यवसायी आन्दोलित

हिमालय टिभी
२०८० कार्तिक १४ गते १३:२६
नियमित अन्तर्राष्ट्रिय उडानको माग गर्दै व्यवसायी आन्दोलित

१४ कात्तिक २०८० रुपन्देही । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको माग गर्दै व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् ।

विमानस्थल सञ्चालनमा आएको डेढ वर्षसम्म पनि नियमितरुपमा अन्तर्राष्ट्रिय उडान हुन नसक्दा राज्य र निजी क्षेत्रको अर्बौं लगानी डुब्न लागेको भन्दै व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले रिले अनसन बस्नेदेखि आन्तरिक उडान रोक्ने र सीमा नाका बेलहिया अनिश्चितकालका लागि बन्द गर्नेसम्मका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।

निजी क्षेत्र र सामाजिक संघसंस्थाका गरी ३२ वटा संस्था आबद्ध सिद्धार्थ संजाल रुपन्देहीले आजदेखि ३५ दिनको अल्टिमेटम दिएर आन्दोलन घोषणा गरेको संजालका अध्यक्ष अनिलकुमार ज्ञवालीले जानकारी दिनुभयो । विमानस्थल बनाउन मुआब्जासहित करिब ४० अर्ब लगानी भएको छ ।

विमानस्थललाई लक्षित गरेर निजी क्षेत्रबाट पाँचतारे सहित तारे होटेल र अन्य व्यवसायमा झण्डै ८० अर्ब लगानी भएको छ । २०७९ जेठ २ गते उद्घाटन भएको विमानस्थलमा अहिलेसम्म नियमित उडान हुन सकेको छैन ।

उद्घाटनकै दिनबाट अन्तर्राष्ट्रिय उडान सुरु गरेको जजिरा एयरलाइन्सले केही समयपछि नै उडान रोकेको छ । यस्तै केही समय चार्टर्ड उडान भरेको हिमालय एयरले पनि उडान रोकेको छ । अहिले नेपाल एयरलाइन्सले सातामा एक उडान मात्र गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *