परराष्ट्रमन्त्री साउद र अमेरिकी विदेशमन्त्री ब्लिङ्केनबीच भेटवार्ता
१४ कात्तिक २०८० काठमाडौं । अमेरिका भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनबीच द्विपक्षीय भेटवार्ता भएको छ ।
अमेरिकी विदेश मन्त्रालयमा गएराति भएको भेटमा एमसीसी परियोजना, सूचना प्रविधि, कृषि, खाद्य सुरक्षालगायतका विषयमा छलफल भएको थियो । अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले ट्वीट गर्दै एमसीसी परियोजनाबारे मन्त्री साउदसँग छलफल भएको जानकारी दिनु भयो ।
अमेरिकी विदेशमन्त्रीले इजरायलमा हमासले गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएकोप्रति समवेदना प्रकट गर्नुभएको छ । परराष्ट्रमन्त्री साउदले नेपालले अल्पविकसित देशबाट मध्यमस्तरको देशमा स्तरोन्नतिका लागि कार्ययोजना बनाएकाले थप सहयोगको खाँचो औँल्याउनु भएको थियो ।
उहाँले नेपाललाई व्यापार तथा लगानी, बजारको पहुँच, कृषिको विकास र सूचना प्रविधिको विकास, थप वस्तुको सुविधासहित व्यापार सहुलियत प्रदान गर्न अमेरिकालाई अनुरोध गर्नुभएको थियो ।
मन्त्री साउदले नेपालको आर्थिक, सामाजिक विकासका लागि एमसीसी र अमेरिकी सहयोग नियोगको सहयोग उल्लेखनीय भएको उल्लेख गर्नुभयो ।
दुवै पक्षले एमसीसी परियोजना तोकिएको समयमा नै सम्पन्न हुने कुरामा विश्वस्त रहेको बताएका थिए । उहाँहरुबीच क्षेत्रीय तथा अन्तर्राष्ट्रिय साझा चासोका विषयमा समेत छलफल भएको थियो ।
प्रतिक्रिया