धनुषाका विनोद साहको परिवार १३७ दिनदेखि धर्नामा, न दशैंले छोयो न चिसोले (भिडियो रिपोर्टसहित)
१३ कात्तिक २०८० काठमाडौं । धनुषाका विनोदप्रसाद साहको परिवार माईतीघर मण्डलामा न्यायको माग गर्दै बसेको सोमबार १३७ दिन पुग्यो । सबैलाई दशैं लाग्यो । अरु विभिन्न मागसहित धर्नामा बसेकाहरु माइतीघर मण्डला छोडर चार्डपर्व मनाउन गए । विनोदप्रसादको परिवारलाई भने न दशैंले छोयो, न चिसोले ।
जेठ ७ गते विनोदप्रसादको छोरी आरती साह, श्रीमानको घरमा झुन्डिएको अवस्थामा भेटिइन् । अरुले आरतीले आत्महत्या गरेको हो भने । तर विनोदप्रसादको परिवारलाई आरतीले आत्महत्या गरेको हो भन्ने लाग्दैन । दाईजोकै निहुँमा आरतीको हत्या भएको आशंका माइतीपक्षको छ । न्यायको माग गर्दै १३७ दिनदेखि माइतीघर मण्डलामा धर्ना दिए पनि मागको सुनुवाई नहुँदा विनोदप्रसादको परिवार निराश छ ।
आरतीका बुबा र बहिनी मात्रै होईन, आमा र भाई पनि माईतीघर मण्डलामा १३७ दिनदेखि धर्नामा छन् । सरकारले लामो समयदेखि न्यायको माग गरिरहेको विनोदप्रसादको परिवारको आवाज नसुनेपछि नागरिक अभियन्ताहरुले पनि सरकारलाई झक्झक्याइरहेका छन् ।
आरती, मृत भेटिनुभन्दा २५ दिनअघि ससुरा र पतिले कुटपिट गरेको भन्दै माइती गएकी थिइन् । माइतीमा १५ दिन बसेपछि घर फर्किएकी आरती त्यसको १० दिनपछि अर्थात् जेठ ७ गते झुण्डिएको अवस्थामा मृत भेटिनुभयो । पोष्टमार्टमबाट आत्महत्याको रिपोर्ट आएको छ । तर शरीरमा भएका चोटको निसानले भने आत्महत्याका लागि दुरुत्साहन गरेको खुल्न आएको थियो ।
धनुषा जिल्ला अदालतका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले आरतीका पति मोतिबाबु साह र ससुरा मदन मोहन ब्याहुत सुडीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । तर, दोषी करार गरेको छैन । दोषी करार नगरेको र जीउधनको सुरक्षा नभएको भन्दै आरतीका बुवासहित सपरिवार असार १ देखि माइतीघरमा धर्ना दिइरहेका छन् । तर सरकारले उनीहरुको आवाज सुन्न सकेको छैन ।
प्रतिक्रिया