Main News

महासचिव गुटेरेसको भ्रमणसँगै नेपालमा पर्यटकको संख्या बढ्ने अपेक्षा (भिडियो रिपोर्टसहित)

२०८० कार्तिक १३ गते १८:०३
महासचिव  गुटेरेसको भ्रमणसँगै नेपालमा पर्यटकको संख्या बढ्ने अपेक्षा (भिडियो रिपोर्टसहित)

१३ कात्तिक २०८० काठमाडौं । यतिबेला संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपाल भ्रमणमा हुनुहुन्छ । इजरायल–हमासबीच चलिरहेको द्वन्द्वका बीच गुटेरेसको नेपाल भ्रमणले विश्वको ध्यान तानेको छ ।

गुटेरेससँगै अन्तर्राष्ट्रिय सञ्चारमाध्यम पनि यतिबेला नेपालमा छन् । चार दिने भ्रमणको उद्देश्य र यसको उपादेयता विस्तारै बाहिरिएला । तर, पर्यटन व्यवसायी भने गुटेरेसको भ्रमणसँगै नेपालमा पर्यटकको संख्या बढ्ने अपेक्षा गर्छन् ।

पर्यटन क्षेत्रलाई चलायमान बनाउन पर्यटन व्यवसायीले विभिन्न योजना अघि सार्दै आएका छन् । तर, त्यति हुँदा पनि सोचे अनुसारको पर्यटक नेपाल आएका छैनन् । चाडपर्वका समयमा आन्तरिक पर्यटकले पर्यटन क्षेत्रलाई धाने पनि नजिकिँदै गरेको क्रिसमस र नयाँ वर्षमा पर्यटक तान्न भने एक्लो प्रयासले सम्भव नहुने पर्यटन व्यवसायी बताउँदै आएका छन् ।

यसैबीच, चार दिने भ्रमणका लागि नेपाल आइपुग्नुभएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका कारण विश्वको ध्यान नेपालमा तानिरहँदा पर्यटन प्रवद्र्धन हुने विश्वासमा छन् । हुन पनि गुटेरेसले भ्रमण गरेका क्षेत्रले पर्यटक आकर्षण गर्छन् नै । गुटेरेस आइतबार साँझ पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्र पुग्नुभयो ।

सोमबार बिहान जलवायु परिवर्तनको असरबारे स्थलगत अवलोकन गर्न सगरमाथा क्षेत्र पुग्नुभयो । पोखरा र लुम्बीनीको भ्रमण पनि हुँदा विश्वमा नेपालको प्रचार भइरहेको पर्यटन व्यवसायी बताउँछन् । यो भ्रमणबाट नेपालको पर्यटन क्षेत्र उकास्ने गरी सरकारले नीति बनाउनुपर्ने पर्यटन व्यवसायी बताउँछन् ।

महासचिव गुटेरेसको सगरमाथा र अन्नपूर्ण बेस क्याम्प, पोखरा र लुम्बिनी जस्ता पर्यटकीय क्षेत्र जाँदा नेपाल, भ्रमणका लागि पूर्ण रूपमा सुरक्षित छ भन्ने सन्देश दिएको छ । गुटेरेसको भ्रमणले नेपालमा गुणस्तरीय पर्यटकमा समेत वृद्धि हुनसक्ने पर्यटन व्यवसायीले आश राखेका छन् ।

हुन पनि नेपालमा हुने विदेशी पाहुनाको भ्रमणले नेपालको पर्यटन क्षेत्रलाई टेवा पुर्‍याएकै छ । सन् १९९३ मा बेलायती राजकुमारी डायनाको नेपाल भ्रमण हुँदा यहाँबाट पस्मिनाको सल लिएर जानुभएको थियो । विदेशका विभिन्न स्थानको भ्रमण गर्दा लगाएपछि यसको चौतर्फी चर्चा चुलियो ।

डायनाको फेशन सेन्ससँग मोहित हुनेहरुले पस्मिनाको शल खोज्दा नेपाली पस्मिनाको ब्रान्डिङ र विश्वभर माग भएको थियो । गुटेरेसको यो भ्रमणले पनि नेपालको संस्कृति, अतिथि देवो भवः भन्ने मुल मन्त्र विश्वभर फैलने थियो । तर, यसका लागि पर्यटन व्यवसायी खुसी भएर मात्रै भने पुग्दैन । सरकारले गुटेरेसको भ्रमणलाई नेपालको पर्यटन क्षेत्रसँग जोडेर ब्रान्डिङ गर्नुपर्ने पर्यटन व्यवसायीको सुझाव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *