खेलकूद

ट्वेन्टी-ट्वेन्टी विश्वकपको एसिया छनोटमा नेपालको विजय सुरुवात (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० कार्तिक १३ गते १७:५८
ट्वेन्टी-ट्वेन्टी विश्वकपको एसिया छनोटमा नेपालको विजय सुरुवात (भिडियो रिपोर्टसहित)

१३ कात्तिक २०८० काठमाडौं । ट्वेन्टी-ट्वेन्टी विश्वकपको एसिया छनोटमा नेपालले विजय सुरुवात गरेको छ । पहिलो खेलमा नेपालले सिंगापुरमाथि ८ विकेटको जित हात पारेको हो ।

जितसँगै समुह ए मा २ अंक जोड्दै नेपालले विश्वकप यात्राको सुखद थालनी गर्यो । तर भरपर्दा अलराउन्डर दीपेन्द्रसिंह ऐरीको चोटले भने टोलीलाई सताउने देखिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सिंगापुरले दिएको १ सय ४६ रनको लक्ष्य नेपालले १६ ओभर ३ बलमा २ विकेट गुमाएर भेट्टायो । शान्दार सुरुवात गर्दै नेपालले पहिलो विकेटका लागि ८४ रनको साझेदारी गर्यो । ट्वेन्टी ट्वेन्टी आईको ओपनिङमा नेपालका लागि उच्च साझेदारी गरेका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले डेढ वर्षपछि ट्वेन्टी ट्वेन्टी आईमा अर्धशकीय साझेदारी गरे ।

२७ रन बनाएका आसिफ १० औं ओभरको पहिलो बलमा अक्षय पुरीको बलमा बोल्ड आउट भए । नेपाललाई जित नजिक पुर्याएका कुशल १७ औं ओभरको दोस्रो बलमा सर्वाधिक ७४ रन बनाएर आउट भए । ट्वेन्टी ट्वेन्टी आईमा उनको यो सातौं अर्धशतक हो । जितका लागि ४ रन चाहिएको अवस्थामा उनी अनन्त कृष्णको बलमा क्याच आउट भए । अघिल्लो सिरिजमा सन्तोषजनक प्रदर्शन नभए पनि अहिलेको प्रदर्शनबाट उनी खुसी देखिए ।

चौंथो नम्बरमा ब्याटिङमा आएका कुशल मल्लले सामना गरेको पहिलो बलमै छक्का प्रहार गर्दै नेपाललाई जित दिलाए । कप्तान रोहितकुमार पौडेलले नटआउट ३५ रन जोडे । खेलअघि नेपालले नराम्रो झड्का व्यहोर्यो । अभ्यासका क्रममा बायाँ खुट्टाको एंकलमा चोट लागेपछि अलराउन्डर दीपेन्द्रसिंह ऐरीले खेल गुमाए । सुरुवाती ११ मा रहे पनि चोट लागेपछि उनको स्थानमा विवेक यादवलाई खेलाइएको थियो । उपचारपछि खेल स्थलमा फर्किए पनि दीपेन्द्रले प्रतियोगिताका बाँकी गुमाउने सम्भावना छ ।

टस जितेर पहिला ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको थियो । दोस्रो बलमै करण केसीले कप्तान अरित्र दत्तलाई शुन्यमा बोल्ड गर्दै सिंगापुरलाई दबाब दिए । तर दोस्रो विकेटका लागि रोहन रंगराजन र सुरेन्द्रन चन्द्रमोहनले ५२ रनको साझेदारी गर्दै सिंगापुरको पाली सम्हाले । यी दुईको साझेदारी सातौं ओभरको पाँचौं बलमा सन्दीप लामिछानेले तोडे । सन्दीपको बलमा चन्द्रमोहन ६ रनमा बोल्ड हुँदा लगतै अर्को ओभरमा गुलशन झाले २ विकेट लिँदै खेलमा पकड बनाए । आठौं ओभरको पहिलो बलमा रोहन सन्दीप जोराबाट क्याच हुँदा अमर्त्य कौललाई शुन्यमा कट एण्ड बोल्ड गरे । घरेलु मैदानको फाइदा उठाउँदै दोस्रो पटक विश्वकपमा पुग्नेमा गुल्शन आशावादी छन् ।

सिंगापुरका लागि आर्यवीर चौधरीले ३७ र मनप्रित सिंहले २४ रन जोडे । बलिङमा नेपालका अविनाश बोहराले ३ तथा करण केसी, सन्दीप लामिछाने र गुल्सन झाले २(२ विकेट लिए । यो जितसँगै नेपालले समुहमा महत्वपूर्ण २ अंक जोडेको छ । अब आफ्नो दोस्रो खेलमा नेपालले मंगलबार दिउँसो सवा १ बजे मलेसियासँग त्रिवि क्रिकेट मैदानमै खेल्नेछ । ८ टोली सहभागी प्रतियोगिताको फाइनल पुग्ने २ टोलीले आगामी वर्ष अमेरिका र वेष्टइण्डिजमा हुने ट्वेन्टी–ट्वेन्टी विश्वकपमा स्थान बनाउने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्